npl.977 Nepal News Stream

#खेलकुद

Contents
Kendrabindu logo Kendrabindu

आइपीएल इतिहासकै सर्वाधिक सफल क्लब मुम्बईको चौथो लज्जास्पद हार, अपराजित पन्जाब शीर्षमा

इन्द्र कमल रोक्का 34 minutes ago

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा पन्जाब किङ्सले आफ्नो अपराजित यात्रा कायम राख्दै मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ७ विकेटले पराजित गरेको छ । बिहीबार भएको यो खेलमा पन्जाबले १६.३ ओभरमै १९६ रनको लक्ष्य पूरा गर्दै सिजनको चौथो जित दर्ता गरेको हो ।

यो जितसँगै पन्जाब ५ खेलमा ४ जित र १ नतिजाविहीनसहित ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९५ रन जोड्न सक्यो । क्विन्टन डिककले ६० बलमा ८ चौका र ७ छक्कासहित अविजित ११२ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । नमन धीरले ५० रन बनाए भने कप्तान हार्दिक पाण्ड्या १४ रनमा सीमित रहे । अन्य ब्याटरले दोहोरो अंक छुन पनि सकेनन् ।

पन्जाबको बलिङ आक्रमणमा अर्शदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएर खेलको रंग बदलिदिए । उनै अर्शदीप म्यान अफ द म्याच चुनिए । मार्को जान्सन र शशांक सिंहले १–१ विकेट हात पारे ।

जवाफमा पन्जाबको चेज उत्कृष्ट रह्यो । ओपनर प्रभसिमरन सिंहले ३९ बलमा ११ चौका र २ छक्कासहित अविजित ८० रनको पारी खेले । कप्तान श्रेयस ऐय्यरसँग तेस्रो विकेटका लागि १३९ रनको शतकीय साझेदारी गरे । ऐय्यरले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन जोडे । प्रियांस आर्या १५ र कुपर कोनोली १५ रनमा पेभेलियन फर्किए भने मार्को जान्सन १० रनमा अविजित रहे ।
मुम्बईका लागि एएम घजनफरले २ विकेट लिए भने शार्दुल ठाकुरले १ विकेट हात पारे । यो हारसँगै मुम्बईको सिजन झन् खराब बनेको छ । पहिलो खेलमा कोलकाताविरुद्ध जित निकालेको मुम्बई त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाबसँग हार बेहोर्दै ५ खेलमा १ जित र ४ हारसहित २ अंकका साथ नवौं स्थानमा झरेको छ ।

पन्जाबले भने गुजरात टाइटन्स, चेन्नई सुपर किङ्स, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

आज (शुक्रबार) आइपीएलको २५औं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

देशसञ्चार logo देशसञ्चार

मोरङ लिग विजेता सम्राट स्पोर्टिङ विराट गोल्डकपको फाइनलमा, ए डिभिजन लिग विजेता चर्च ब्वाईज ३ शुन्यले स्तब्ध

अभयकुमार राई 10 hours ago

माेरङ –साविक उपविजेता चर्च ब्वाईज युनाइटेडलाई ३ शुन्यले स्तब्ध बनाउँदै विराटनगरको सम्राट स्पोर्टिंग क्लब विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सहिद मैदानमा जारी गोल्डकप अन्तर्गत बिहीबार राति भएको दोस्रो सेमीफाइनलमा मोरङ लिग विजेता सम्राटले ए डिभिजन लिग विजेता टोली चर्च ब्वाईजको चुनौति सहजै पाखा लगाएको हो।

जितसंगै विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको सम्राट स्पोर्टिंग क्लबले शनिबार हुने फाइनलमा झापा एघारको सामना गर्नेछ। चर्च ब्वाईजलाई निराश बनाउने क्रममा सम्राटका सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरेका थिए। रोमान्चक बनेको खेलमा घरेलु टोली सम्राटले खेलको सुरुवातबाट चर्च ब्वाइजमाथि दबाव बनाएको थियो। दबाव बनाउने क्रममा सम्राटले पहिलो हाफमा गोलका केही राम्रा अवसरहरु गुमाएको थियो।

पहिलो हाफ गोलरहित सकिएपनि दोस्रो हाफमा प्रशिक्षक पारस चौधरीको आक्रमक रणनीतिसंगै सम्राटले चर्च ब्वाईजलाई थप दबावमा राख्यो। खेलको ५० औं मिनेटमा सम्राटका लागि सौरभ तामाङले गोल गर्दै अग्रता दिलाए। निर्धारित ९० मिनेटको खेलमा एक शुन्यले पछि परेको चर्च ब्वाईज थप गरिएको ७ मिनेटको समयमा सम्हालिन सकेन। जसको फाइदा सम्राटले लिएको थियो। निर्धारित समयको खेलपछि थप गरिएको ७ मिनेटमा सम्राटका लागि आदित्य शाक्य र विवेक राईले गोल गर्दै टोलीको जित सुनिश्चित बनाए।

सम्राटले यसअघि क्वाटरफाइनमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो। अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए।उनका अनुसार शनिबार हुने फाइनलमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका रुपमा आउने प्रवक्ता लामाले जानकारी दिए।

Explore by Source or Category