दीपेन्द्रसिंह ऐरीको कप्तानीमा युएईविरुद्धको टि-२० टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएई विरुद्ध हुने आगामी ‘अण्डर लाइट्स’ टि-२० आई शृङ्खलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
यस पटक टोलीको नेतृत्वमा महत्वपूर्ण हेरफेर गर्दै क्यानले स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान चयन गरेको छ।
नेपाली क्रिकेटमा पहिलो पटक ‘स्प्लिट क्याप्टेन्सी’को अभ्यास गर्दै टि-२० फर्म्याटको जिम्मेवारी दीपेन्द्रलाई सुम्पिएको हो। रोहित पौडेलले भने एकदिवसीय टोलीको नेतृत्वलाई निरन्तरता दिनेछन्।
घोषित टोलीमा लोकेश बम, सन्दीप जोरा र युवा खेलाडी सन्तोष यादवले स्थान बनाएका छन् भने बलिङतर्फ सन्दीप लामिछाने, शाहब आलम र हेमन्त धामी मुख्य आकर्षणका रूपमा रहेका छन्।
यो शृङ्खला कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट मुनि खेलिनेछ। पहिलो खेल बैशाख ७ गते र दोस्रो खेल बैशाख ८ गते हुने तय भएको छ। आईसीसी विश्वकप लिग-२ को तयारीका रूपमा हेरिएको यस शृङ्खलाले नेपाली टोलीलाई नयाँ कप्तानी र रात्रिकालीन वातावरणमा अभ्यस्त हुन मद्दत पुग्ने विश्वास गरिएको छ।
टोलीमा अर्जुन साउदले विकेटकिपरको भूमिका निभाउनेछन् भने प्रतिश जिसी र राशिद खानलाई रिजर्भमा राखिएको छ।