प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि ‘अपराजित’ आर्मी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश आमनेसामने हुँदैछन् । नारायणी रंगशालामा बिहान ९ बजे सुरु हुने फाइनलमा आर्मी क्लब तेस्रो उपाधिको खोजीमा छ भने सुदूरपश्चिम प्रदेश इतिहास रच्ने दाउमा रहेको छ ।
लिग चरणमा एक खेल पनि नहारी १७ अंक बटुलेर शीर्ष स्थानमा रहेको आर्मी क्लब अपराजित यात्रा कायम राख्दै उपाधि कुम्ल्याउने योजनामा छ । नौ खेलमा आठ जित र एक अनिर्णित नतिजासहित आर्मीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा सन्तुलित प्रदर्शन गरेको छ । यसअघि लिग चरणमा यी दुई टोलीबीच भएको भिडन्तमा आर्मीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो ।
कप्तान विनोद भण्डारीको नेतृत्वमा आर्मी क्लब अझै तीव्र लयमा छ । भण्डारीले नौ खेलको आठ पालीमा ४०२ रन जोड्दै दुई शतक र एक अर्धशतक प्रहार गरेका छन् । भीम सार्की (२४९ रन, तीन अर्धशतक), कुशल मल्ल (२३७ रन, एक अर्धशतक), तृतराज दास (२३५ रन, तीन अर्धशतक) र बसिर अहमद (२०७ रन, एक शतक) ले टोलीको ब्याटिङलाई थप मजबुत बनाएका छन् ।
बलिङमा पनि आर्मी घातक छ । बसिर अहमदले १७ विकेट, नरेश साउदले १५, साहब आलमले १४, आकाश चन्दले १२ र कुशल मल्लले १० विकेट झारिसकेका छन् । विकेटकिपर अर्जुन साउदले १० क्याच र चार स्टम्पिङ गर्दै १४ डिसमिसलमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
पहिलो पटक प्रधानमन्त्री कपको फाइनलमा पुगेको सुदूरपश्चिम प्रदेशले नौ खेलबाट १२ अंक (६ जित, तीन हार) जोड्यो । ब्याटिङमा एकरूपता नदेखिए पनि बलिङमा टोली अत्यन्त खतरनाक छ । मध्यमतेज बलर हेमन्त धामीले नौ खेलमा २५ विकेट (एक खेलमा सात विकेट) झार्दै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त पहिलो स्थान कब्जा गरेका छन् । कप्तान शेर मल्लले २२ विकेटसहित दोस्रो स्थानमा छन् ।
ब्याटिङतर्फ नारायण जोशीले ३०३ रन (तीन अर्धशतक) बनाएका छन् भने अभिषेक पालले २४७ रन जोडेका छन् । दीपक बोहराले विकेटकिपरको भूमिकामा नौ क्याच लिएका छन् । तर लिग चरणमा सुदूरपश्चिमले मात्र दुई खेलमा २००+ रन बनाउन सकेको थियो ।
यो आर्मीको लगातार आठौं फाइनल हो । टोलीले यसअघि दुई पटक उपाधि जितिसकेको छ (पहिलो संस्करणमा संयुक्त विजेता र चौथो संस्करण) । सुदूरपश्चिम भने विभागीय टोलीबाहेक फाइनल पुग्ने पहिलो प्रादेशिक टोली हो । सात संस्करणमा नेपाल पुलिस क्लबले चार, आर्मी र एपीएफ क्लबले दुई–दुई पटक उपाधि उचालेका छन् ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनलपछि शीर्ष छ टोली (आर्मी, सुदूरपश्चिम, एपीएफ, पुलिस, लुम्बिनी प्रदेशसहित) ले जय ट्रफी खेल्नेछन् ।
आर्मी उच्च मनोबल र पूर्ण तयारीमा छ भने सुदूरपश्चिमले लिगको हारको बदला लिने र इतिहास रच्ने मौका खोजिरहेको छ । हेमन्त धामी र शेर मल्लको बलिङ आर्मीका लागि मुख्य खतरा बन्न सक्छ भने आर्मीको सन्तुलित ब्याटिङ र अनुभवी टोलीले दबाब झेल्ने सामथ्र्य राख्छ ।
नारायणी रंगशालामा हुने यो फाइनलले प्रधानमन्त्री कपमा नयाँ विजेता जन्माउने वा आर्मीको दबदबा कायम राख्ने टुङ्गो लगाउनेछ ।