लिग–२ खेल्ने टोलीमा अर्जुन कुमाल र विनोद भण्डारीसहित को-को समेटिए ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएई र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
क्यानले रोहित पौडेलको कप्तानी र दीपेन्द्र सिंह ऐरीको उपकप्तानमा १५ सदस्यीय मुख्य टोली सार्वजनिक गरेको हो ।
घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख र बसिर अहमदलाई समावेश गरिएको छ । त्यसैगरी अलराउण्डरको भूमिकामा गुल्सन झा, सोमपाल कामी र करण केसी रहेका छन् भने स्पिन बलिङको नेतृत्व सन्दीप लामिछाने र ललित राजवंशीले गर्नेछन् ।
टोलीमा अनुभवी खेलाडी विनोद भण्डारीको पुनरागमन भएको छ भने युवा खेलाडीहरू नन्दन यादव र अर्जुन कुमालले पनि मुख्य टोलीमा स्थान बनाउन सफल भएका छन् । यसैगरी क्यानले पाँच जना खेलाडीलाई वैकल्पिक (रिजर्भ) सूचीमा राखेको छ । जसमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाल रहेका छन् ।
यो शृंखला २५ अप्रिलबाट ५ मेसम्म हुनेछ । नेपालले फेरि १२ मेदेखि स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग–२ कै शृंखला खेल्ने तालिका छ । २२ मेसम्म हुने खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ ।