मेसी बने स्पेनिस फुटबल क्लबको मालिक
काठमाडौं । अर्जेन्टिनी फुटबल लेजेन्ड लियोनल मेसी स्पेनको पाँचौं डिभिजन क्लब यूई कोर्नेलाको नयाँ मालिक बनेका छन् । ३८ वर्षीय मेसीले क्लबको पूर्ण स्वामित्व हासिल गरेको कोर्नेलाले आधिकारिक रूपमा घोषणा गरेको छ ।
हाल अमेरिकाको मेजर लिग सकरमा इन्टर मायमीबाट खेलिरहेका मेसीले बार्सिलोनासँगको आफ्नो गहिरो सम्बन्ध र क्याटालोनियाको स्थानीय फुटबल विकासप्रतिको प्रतिबद्धतालाई यो कदमबाट थप मजबुत बनाएका छन् । बार्सिलोनामा रहँदा उनले चारपटक च्याम्पियन्स लिग र १० पटक ला लिगा उपाधि जितेका थिए । आठपटकको बालोन ड’ओर विजेता मेसीले १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट स्पेन गएका थिए र सन् २००४ अक्टोबरमा १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका थिए ।
क्लबका लागि ७७८ खेल खेल्दै ६७२ गोलको कीर्तिमानी बनाएपछि सन् २०२१ मा पेरिस सेन्ट जर्मेन र २०२३ मा इन्टर मायमी पुगेका मेसीको यो लगानीले क्लबको इतिहासमा नयाँ अध्याय सुरु गरेको छ । कोर्नेलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लियो मेसीको आगमनले खेलकुद र संस्थागत दुवै पक्षमा विकासलाई तीव्रता दिनेछ । हामी आधारलाई थप मजबुत बनाउने, ट्यालेन्टमा निरन्तर लगानी गर्ने र दीर्घकालीन रणनीतिक योजनाअनुसार क्लबलाई अगाडि बढाउने छौं ।”
कोर्नेलाको स्टेडियमको क्षमता १५ सय मात्र रहेको छ । तर क्लबको युथ प्रणालीबाट नै आर्सनलका गोलकिपर डेभिड राया र बार्सिलोनाको पूर्व स्टार तथा इन्टर मायमीका डिफेन्डर जोर्डी अल्बा जस्ता खेलाडी उत्पादन भएका छन् । मेसीको स्वामित्वले यो युथ प्रणालीलाई थप उन्नत बनाउने अपेक्षा गरिएको छ ।
अझ रोचक बनाउने कुरा के छ भने, मेसीका पूर्व प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पनि गत फेब्रुअरीमा स्पेनकै अर्को क्लब युडी अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका थिए । रोनाल्डो हाल साउदी अरेबियाको अल नासरबाट खेलिरहेका छन् ।