अपराजित रहँदै आर्मी बन्यो प्रधानमन्त्री कप च्याम्पियन
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज वीरगन्जस्थित नारायणी मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशमाथि ५ विकेटको जित दर्ता गर्दै आर्मी च्याम्पियन बनेको हो ।
आठौं पटक फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । प्रधानमन्त्री कपको हालसम्म भएका सात वटा संस्करणमा नेपाल पुलिस क्लबले चार, आर्मी र एपीएफ क्लबले दुई/दुई पटक उपाधि उचालेका थिए । पहिलो संस्करणको फाइनल खेल वर्षाले बिथोलिँदा पुलिस र आर्मी दुवैलाई संयुक्त विजेता घोषणा गरिएको थियो। त्यसबाहेक पुलिसले तेस्रो, छैटौं र सातौं संस्करणको उपाधि उचाल्दा एपीएफले दोस्रो र पाँचौं प्रधानमन्त्री कप जितेको थियो। आर्मीले भने पुलिससँग संयुक्त विजेता बनेको पहिलो फाइनलपछि चौथो संस्करणको उपाधि उचालेको थियो।
विभागीयबाहेक फाइनलमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिम भने उपाधिबाट वञ्चित बनेको छ । यसअघि लिग चरणमा दबदबा कायम राखेको सुदूरपश्चिम फाइनलमा भने चुक्यो ।