npl.977 Nepal News Stream

#NEWS

Contents
Tourism Face logo Tourism Face

पर्यटकीय थुम्को स्वर्गाश्रममा योग, ध्यान र प्राकृतिक दृष्यावलोकनका लागि पूर्वाधार निर्माण

Tourism Face 32 minutes ago

टुरिजमफेस
म्याग्दी । पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

परापूर्वकालमा तपस्या गर्न ऋषिमुनीहरु आउने स्वर्गाश्रम आधुनिक समाजमा विपाशना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ । आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए । “पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत्, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,” उनले भने “स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ ।”

बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताए । आश्रममा १२ वर्षसम्म तपस्या गरी बसेकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो । महायज्ञबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो । बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुङ्गा विछ्याउने, पदमार्ग र घेराबार निर्माण भएको वडा सदस्यसमेत रहेका स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए ।

उनका अनुसार समुद्रि सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रममा दुई सय वर्षअघि ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । “आश्रम नजिकैको गुफामा सप्तऋषिले तपस्या गरेको किंबदन्ती छ,” जिसीले भने “स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वास छ ।”

फाट्टफुट्ट रुपमा नेपाल र भारतका विभिन्न ठाउँका तपस्वीहरु स्वर्गाश्रममा आउने गरेका छन् । हिमालको काँखमा शान्त वातावरणमा योग, ध्यान र विपाशनाका लागि स्वर्गाश्रम उपयुक्त भएको योगी बद्रीनाथले बताए । “पहिले यहाँ तपस्विहरुले ओडारमा बस्नुपर्ने समस्या थियो,” उनले भने “पूर्वाधार निर्माण भएपछि सहज भएको छ ।”

अर्का योगी त्रीशक्तिनाथले यहाँ आउँदा कोलाहल र तनावबाट मुक्ति मिल्ने भएकाले स्वर्गाश्रम नाम रहन गएको बताउनुभयो । स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ ।

नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुङ्गे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रमको फेदीमा रहेको बागखोरमा उद्यान छ । जहाँ हिमशृङ्खला अवलोकन गर्दै वनभोज खान सकिन्छ ।

हरेक वर्षको वैशाख १ गते स्वर्गाश्रमदेखि केहीमाथि म्याग्दी र बागलुङको सिमानामा रहेको बेलढुङ्गासम्म रथयात्रा गर्ने चलन छ । स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र सङ्घ संस्थाले साझेदारी गर्दै आएका छन् ।

स्वर्गाश्रमको महत्वलाई उजागर गर्ने उद्देश्यले आइतबार दोस्रो विश्व योग दिवसको अवसरमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो । बेनी नगरपालिका–३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो ।

दिवसको अवसरमा योग, ध्यानको नमूना प्रदर्शन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयवासी स्वर्गाश्रममा भेला भएका थिए । बेनीदेखि भकिम्ली र काठेखोलाको धम्जा हुँदै स्वर्गाश्रम पुग्न सकिन्छ । बेनीदेखि एक घण्टा ३० मिनेट गाडीमा यात्रा गरेपछि स्वर्गाश्रम पुगिन्छ । त्यहाँ कच्ची सडक पुगेको छ । धम्जामा बेलढुङ्गा होमस्टे सञ्चालन भएको छ ।

भकिम्लीको भुकभुके र मुसुङका बासिन्दाले पनि स्वर्गाश्रम, बेलढुङ्गा घुम्न आउने पाहुनालाई घरमा खाने, बस्ने व्यवस्था मिलाएका छन् । भुकभुके र मुसुङमा होमस्टे सञ्चालनको तयारी भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका कोषाध्यक्ष पूर्णमाया जिसीले बताए । आफै बन्दोबस्तीका सामान ल्याएर आउने पाहुना र पर्यटकले स्वर्गाश्रम र बाघखोरको आश्रयस्थल भवनमा पकाएर खान सक्छन् ।

The post पर्यटकीय थुम्को स्वर्गाश्रममा योग, ध्यान र प्राकृतिक दृष्यावलोकनका लागि पूर्वाधार निर्माण first appeared on Tourism Face.

Tourism Face logo Tourism Face

ओलाङ्चुङगोला-सिङ्जेमा ताल-टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम हुँदै

Tourism Face 15 hours ago

टुरिजमफेस
ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाका प्रमुख पर्यटकीय गन्तव्य समेटेर ओलाङ्चुङगोला–सिङ्जेमा ताल-टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगामी चैत २६ गतेदेखि ‘टिप्तलाबाट नयाँ वर्ष’ भन्ने नारासहित आयोजना गरिने उक्त कार्यक्रमको उद्देश्य यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले बताए ।

चैत २६ गते काठमाडौँबाट सुरु हुने उक्त कार्यक्रम वैशाख १ गते नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको हो ।

अध्यक्ष तामाङका अनुसार प्रवर्द्धन कार्यक्रममा जनप्रतिनिधि, पर्यटन व्यवसायी, यात्री, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दासहित सयौँको सङ्ख्यामा सहभागिता रहने अपेक्षा गरिएको छ । कम प्रचारमा परेका हिमाली तथा पहाडी क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा चिनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको उनले बताए ।

काठमाडौँबाट यात्रा सुरु गरी धरान–वसन्तपुर–तीनजुरे–गुफा पोखरी–मिल्के–साँघु–फुङ्लिङ–लेलेप–तापेथोक–ओलाङचुङ्गोला–टिप्तला–सिङ्जेमा ताल–फुङ्लिङ–फिदिम हुँदै पुन धरान–काठमाडौँसम्मको हुनेछ । वसन्तपुरदेखि तीनजुरे–मिल्के–जलजले क्षेत्र हुँदै हुने यात्रा गुराँस फुल्ने मौसमसँग मेल खाने भएकाले ‘गुराँसको राजधानी’का रूपमा चिनिने यो क्षेत्र यात्रीका लागि विशेष आकर्षण बन्ने विश्वास आयोजकले लिएका छन् ।

पदयात्राका क्रममा फोटो, भिडियो, लेख तथा वृत्तचित्र सामग्री तयार गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने तयारीसमेत गरिएको छ । कार्यक्रमको तयारी ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष मिङ्मा डण्डु लामाको संयोजकत्वमा भइरहेको जनाइएको छ ।

The post ओलाङ्चुङगोला-सिङ्जेमा ताल-टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम हुँदै first appeared on Tourism Face.

Tourism Face logo Tourism Face

धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह

Tourism Face 15 hours ago

टुरिजमफेस
गण्डकी । हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ । यिनै उत्तरबाहिनी गङ्गाको मुहानमा रहेको उत्तरगङ्गा ढोरबराह यस क्षेत्रकै महत्वपूर्ण तीर्थका रुपमा चासो र चर्चा कमाएको छ ।
उत्तरगङ्गा धामका रुपमासमेत चिनिएको यो तीर्थस्थलमा विशेषतः जनैपूर्णिमा र वैशाख शुल्क पूर्णिमा दिन विशेष मेला लाग्ने गरेको मन्दिरका पूजारी चामबहादुर बुढाले जानकारी दिए । उत्तरतर्फ भई बग्ने उत्तरगङ्गा नदीको मुहान नै उत्तरगङ्गा ढोरबराह भएको जानकारी दिँदै उनले यहाँ आएर दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको बताए ।
यस स्थलमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमाका दिन मेला भर्न बागलुङसहित पर्वत, म्याग्दीलगायत जिल्लाका साथै कास्की, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थीहरू आउने गरेका छन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्दै आएको उनले जानकारी दिए । मेलामा सहभागी बन्नका लागि आउने भक्तजनले ढोरबराहमा पूजा गर्नुअघि यहाँ आउने बाटोमा रहेको रुद्रावती गङ्गाको उद्गमस्थल रुद्रतालमा स्नान एवम् पूजा गर्दै ढोरपाटन देउरालीमा पाती चढाएर जाने प्रचलन छ ।
यहाँ बर माग्ने पनि अनौठो मौलिक परम्परा छ । उत्तरगङ्गा ढोरबराहमा बर माग्न आउनेहरू सबैभन्दा पहिले रुद्रतालमा र त्यसपछि देउराली भञ्ज्याङमा रहेको देउराली थानमा धजा चढाउने गर्दछन् । त्यहाँबाट आएर यहाँका बाइस धारामा नुहाएर बराह मूलमा गएर बत्ती बालेर फूलपाती, अक्षताले भगवान शिवको बाहन बहरे गोरुलाई पूजा गरी २२ वटा ध्वजा चढाउँछन् । “यहाँ आएर दर्शन गरेमा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, नबोलेका बच्चा बोल्ने आदि विश्वास रहेको छ”, उनले भने, “रोजगारी प्राप्ति, राम्रो स्वास्थ्य आदिको कामना गर्दै पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।”
पूजा गर्ने क्रममा बराहमूलको कुण्डमा बुलबुल गरेर पानीका फोका उठेमा राम्रो भएको मानिने फोका नउठेमा ग्रहदशा बिग्रेको मानिने जनविश्वास छ । ढोरबराह मन्दिरमा रहेका बाइस धारा कहिल्यै पनि नसुक्नु यहाँको अर्को विशष्टिता हो। बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास रहेको पूजारी बुढाले जानकारी दिए । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगङ्गामा बगाउने प्रचलन पनि रहेको बुढापाकाहरु बताउँछन् ।
पछिल्लो समयमा ढोरपाटनसम्म आउने बाटो सहज बन्दै गएपछि टाढाटाढाबाट दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य रामबहादुर घर्ती मगरले जानकारी दिए । पछिल्ला दुुई तीन वर्षयता दर्शनार्थी तथा पर्यटक आउने क्रम बढिरहेको बताउँदै उनले स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको जानकारी दिए । “दर्शनार्थीसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि आउन थालेपछि यहाँका स्थानीयले पर्यटक लक्षित होटेल तथा घरबासका लागि पनि लगानी बढाउँदै गएका छन्”, ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालकसमेत रहेका मगरले भने, “पर्यटकीय चहलपहलले स्थानीयवासीको उत्पादन खपत हुनुका साथै यसले विभिन्न किसिमका रोजगारीसमेत सिर्जना गरेको छ ।”
नेपालको एक मात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन शिकार आरक्षभित्र रहेका कारण पनि यो पर्यटकीय रुपमा अर्को आकर्षण हो । ठूलो उपत्यकाको दक्षिणतर्फ अवस्थित सुर्तिवाङ पहाडको उत्तरतर्फबाट उत्तरगङ्गाको र दक्षिणपट्टी रहेको रुद्रतालबाट रुद्रवतीगङ्गाको उत्पत्ति भएका कारण समग्र यस क्षेत्रको धार्मिक महत्व रहेको छ । रुद्रतालमा सतिदेवीको रुद्र अर्थात घाँटी पतन भएको हुँदा रुद्रतालबाट जलप्रवाह भएर रुद्रबतीगङ्गा, बडिगाड खोलाहुँदै कालीगण्डकीमा मिसिएको ठाउँलाई रुद्रवेणी अर्थात् रुरुक्षेत्रका रुपमा लिने गरिएको अर्का स्थानीय बेगबहादुर विकले जानकारी दिए ।
सुर्तिवाङ पहाडको देउराली भञ्ज्याङमा रहेको ठाडो ढुङ्गामा साउनको पहिलो हप्ता गाईको दूधले धार दिएपछि मात्रै बर्खाको समयमा सुर्तिवाङ्मा चरनको लागि लगेका गोठमा खिर, कुराउनी र ताईरोटी पकाउने प्रचलन रहेको स्थानीयवासी बताउँछन् । उत्तरगङ्गा ढोरबराहमा यहाँको पूजाआजाको व्यवस्थापनका लागि प्रत्येक वर्ष बोलपत्र आह्वान गर्ने गरेको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य घर्तीले जानकारी दिए ।
पूजाका लागि जिम्मा पाएको व्यक्तिले मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले चढाउने भेटीघाटीका साथै भेडाको बलि दिने क्रममा टाउँको बिक्रीबाट आम्दानी गर्ने गर्दछन् । सामान्यतः जनैपूर्णिमाका दिन एक हजारभन्दा बढी भेडाको बलि हुने गर्दछ भने वैशाख पूर्णिमामा पाँच सय भन्दा बढी भेडाको बलि हुने गर्दछ । अघिपछि पनि विभिन्न तिथि पारेर भाकलसहित पूजाआजा गर्न दर्शनार्थी आउने गर्दछन् ।
मालपोत कार्यालयले प्रत्येक वर्ष जेठको १५ गतेदेखि ३० गतेसम्म समयावधि तोकेर बढाबढका लागि सूचना निकाल्ने गरेको उनले जानकारी दिए । अघिल्लो वर्षमा बढाबढका क्रममा रु १२ लाखको बोलपत्र स्वीकृत भएको थियो । मन्दिरको संरक्षणसँगै पछिल्ला समयमा यहाँको भौतिक पूर्वाधार विकासका लागि पनि राज्यको चासो बढेको उनले जानकारी दिए । मन्दिर परिसरमा जलकुण्डसहित पार्क निर्माणका साथै पाटनका ठाउँठाउँमा परम्परागत शैलीका पुल निर्माण भइरहेको उनले बताए ।

The post धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह first appeared on Tourism Face.

BIZMANDU logo BIZMANDU

सीएफ मोटोको नयाँ ‘डुअल-स्पोर्ट’ बाइक छिटै बजारमा, नेपाली सडकमा हुँदैछ टेस्ट ट्राइभ

Bhim Ghimire 20 hours ago

काठमाडौं। सीएफ मोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपाली भूभागमा परीक्षणका क्रममा छ। एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टका बाइकमा नेपाली प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै यो नयाँ मोडल बजारमा ल्याउने तयारी भइरहेको हो।

नयाँ मोडल छिट्टै लन्च गरिने सीएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जनाएको छ। बिक्रेता कम्पनीले २५० डुअलको परीक्षण सुरु गरेको हो। नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई शहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको जनाइएको छ।

नयाँ मोटरसाइकललाई सीएफ मोटोले मजबुत अफ–रोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ। नेपालका जटिल भूगोलको सडक परिस्थिति र चुनौतीपूर्ण भू-परिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ।

डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ बिशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ। अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लामो फोर्क गार्ड उपलब्ध गराइएको छ। बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्यांकसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ।

इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबाट गरिएको छ भने प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ। टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफ–रोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्येनजर गर्दा सीएफ मोटो नेपाली सडक सुहाउँदो मोटरसाइकल लन्च गर्न गम्भीर रहेको पुष्टि गरेको कम्पनीको विज्ञप्तिमा छ।

एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउने अपेक्षा गरिएको छ।

The post सीएफ मोटोको नयाँ ‘डुअल-स्पोर्ट’ बाइक छिटै बजारमा, नेपाली सडकमा हुँदैछ टेस्ट ट्राइभ appeared first on BIZMANDU.

Explore by Source or Category