npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

छैटौँ आरोहणको लक्ष्यसहित पूर्णिमा सगरमाथा आधार शिविरमा

Tourism Face 15 hours ago

काठमाडौं । गोरखाकी कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ फेरि एकपटक सगरमाथाको शिखरतर्फ उक्लिने तयारीमा छन्। छैटौँ पटक आरोहण गर्ने लक्ष्यसहित उनी हाल सगरमाथा आधार शिविर पुगिसकेकी छन्।

तेह्र दिनभित्र तीन पटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएकी श्रेष्ठले आधार शिविरबाट केही दिनमै पहिलो शिविरतर्फ अघि बढ्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

उनले २०८१ सालको वैशाख ३०, जेठ ६ र १२ गते छोटो अवधिमा लगातार तीनपटक सगरमाथा चढ्दै विश्व कीर्तिमान बनाएकी थिइन्। यही उपलब्धिका कारण उनको नाम गिनिज बुकमा दर्ता भएको थियो।

त्यस्तै, १३ दिनमै तीनपटक सगरमाथा आरोहण गरेको उपलब्धिका आधारमा सन् २०२४ मा सिएनएनले सार्वजनिक गरेको उत्कृष्ट खेलाडीहरूको सूचीमा पनि उनी समावेश भएकी थिइन्।

श्रेष्ठले पहिलोपटक २०७५ जेठमा सगरमाथा चढेकी थिइन् भने २०८२ जेठ ४ गतेसम्म आइपुग्दा पाँचौँ पटक शिखर चुमिसकेकी छन्।

उनले ८ हजार मिटरभन्दा अग्ला सगरमाथासहित केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण–१, धौलागिरि र मनास्लु हिमालहरू विभिन्न समयमा गरी कुल १४ पटक सफल आरोहण गरिसकेकी छन्।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका–९, आरुटारकी स्थायी बासिन्दा श्रेष्ठले नेपाली पर्वतारोहण क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आइरहेकी छन्।

The post छैटौँ आरोहणको लक्ष्यसहित पूर्णिमा सगरमाथा आधार शिविरमा first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category