npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेस, एमाले र रास्वपाको घोषणा पत्र : वित्तीय क्षेत्रमा कसको कस्तो एजेण्डा ?

Akash Bogati 13 hours ago

काठमाडौं । आज प्रमुख तीन राजनीतिक दलहरुले आगामी प्रतिनिधिसभा लक्षित घोषणा पत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय रास्वपा पार्टीले वित्तीय क्षेत्रलाई समेत समेटेर घोषणापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा बैंकको मुद्दतीभन्दा बढी ब्याज पाइने ‘विशेष बचत पत्र’ ल्याउने प्रतिज्ञा गरेको छ।  

यस्तो बचतपत्र खरिद गर्नेलाई स्वदेश फर्किएपछि उद्यम गर्न परियोजनामा आधारित बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ। साथै, साना तथा मझौला उद्योग र कृषि कर्जामा निश्चित अवधिसम्म ब्याजदर नबढ्ने गरि ’स्थिर ब्याजदर’ नीति अबलम्बन गर्ने जनाएको छ।

कांग्रेसले आफ्नो घोषणा पत्रमा आर्थिक मन्दीले मर्कामा परेका इमानदार उद्यमीलाई कालोसूचीबाट हटाउन स्पष्ट वर्गीकरण गर्ने, ऋणको पुनरतालिकीकरण र हर्जाना मिनाहा गरि नयाँ सुरूवातका लागि ‘सिल्भर क्रेडिट’ र परियोजना धितो मा पुनर्कर्जा उपलब्ध गराउँदै लघुवित्त तथा सहकारीका ऋणीहरूलाई ऋण राफसाफको विशेष प्याकेज ल्याउने जनाएको छ।

साथै, लघुवित्त र सहकारीका ऋणीहरूलाई ऋण राफसाफको विशेष प्याकेजमार्फत राहत प्रदान गर्ने पनि उल्लेख गरेको छ।

कृषि बीमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने र आधुनिक प्रविधि ‘ड्रोनर स्याटेलाइट’ मार्फत क्षतिको यकिन गरेर सिधै किसानको बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ।

पशुपालन र बहुवर्षे खेतीको ऋणमा उत्पादन सुरु नभएसम्मको ब्याजलाई साँवामा जोड्ने (ब्याजको पूँजीकरण) र आम्दानी सुरु भएपछि मात्र किस्ता तिर्ने व्यवस्था मिलाउने पनि जनाइएको छ।

२५ करोड भन्दा माथि कारोबार गर्ने ऋण तथा बचत सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। बचत तथा ऋण सहकारी सस्थाहरूका निश्चित सीमासम्मका रकमका अनिवार्य बीमाको व्यवस्था गर्ने पनि उल्लेख छ।

विदेशमा रहेका नेपालीलाई ५ हजार!

एमालेले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान स्वरुप वार्षिक ५ हजार रुपैयाँ बैंक खातामा थपिदिने घोषणापत्रमा उल्लेख गरेको छ।

साथै, उसको घोषणापत्रमा २५ हजारसम्मको ऋण मिनाहा गर्ने व्यवस्था मिलाउने भनेको छ। यस्ता परिवारलाई अनिवार्य सामाजिक सुरक्षामा आवद्ध गर्ने उल्लेख छ।

एमालेले २० लाखसम्म उद्यमी महिलालाई निर्ब्याजी ऋण दिने जनाएको छ। साथै, प्रविधि तर्फ उच्च शिक्षा विदेश जानेलाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ। उसले आगामी पाँच वर्षमा ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धि गर्ने जनाएको छ।

भारुको दर पुनरावलोकन

राष्ट्रिय स्वतन्त्र पार्टीले वार्षिक ७ प्रतिशको आर्थिक वृद्धि गरेर ५ वर्षमा १ खर्ब डलरको अर्थतन्त्र बनाउने घोषणा सार्वजनिक गरेको छ।

रास्वपाले भारतीय रुपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्टिय प्राज्ञहरु समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्ने जनाएको छ।

रास्वपाको घोषणापत्रमा कर्जामा हुने दोहोरोपन र ‘ऋणको पासो’ अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई कर्जा सूचना केन्द्रसँग जोडी वास्तविक क्षमताका आधारमा मात्रै कर्जा प्रवाह भएको सुनिश्चित गर्ने र ब्याजदरलाई बेसरेटसँग जोडेर केही प्रिमियम लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित सेवा खडा गर्ने प्वाल बन्द गर्ने घोषणा पत्रमा उल्लेख छ।

The post कांग्रेस, एमाले र रास्वपाको घोषणा पत्र : वित्तीय क्षेत्रमा कसको कस्तो एजेण्डा ? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category