npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सिरहामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

इन्द्र कमल रोक्का 2 hours ago

सिरहा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै आजदेखि प्रशिक्षण सुरु हुने जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवका अनुसार प्रशिक्षण सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा सञ्चालन हुनेछ । प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुनेछ । प्रमुख श्रीवास्तवले निर्वाचन सम्पन्न गर्न आवश्यक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ का मतदान अधिकृतका लागि फरक–फरक मितिमा प्रशिक्षण सञ्चालन गरिनेछ । त्यस्तै निर्वाचन क्षेत्र नं १ र २ तथा निर्वाचन क्षेत्र नं ३ र ४ का सहायक मतदान अधिकृतका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण मिति निर्धारण गरिएको छ । प्रशिक्षण १४ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यालयद्वारा जारी सूचनामा तोकिएको मिति र समयमा सम्बन्धित अधिकारी उपस्थित हुनुपर्ने उल्लेख छ । प्रशिक्षणमा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, आचारसंहिता पालना, मतगणना प्रक्रिया तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषय समेटिने जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई समयमै उपस्थित हुन आग्रह गरेको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category