PalikaNews
घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
कैलाली — घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च देखिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दु भएको पाइएको हो ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालको आयोजनामा घोडाघोडी नगरपालिका–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।
“मोतियाबिन्दुको समस्या देखिएका सबै बिरामीको आइतबार र बिहीबार गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ,” उनले भने, “सुख्खडबाट अस्पतालसम्म बिरामी ल्याउन निःशुल्क सवारीसाधनको समेत व्यवस्था गरिएको छ ।”
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक र भौगोलिक पहुँचको अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै सङ्घले घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार हालसम्म सङ्घले देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पु¥याएको छ ।
नेपाल नेत्रज्योति सङ्घले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल र २२६ वटा आँखा उपचार केन्द्रमार्फत नेपाली नागरिकसहित विभिन्न देशका चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको जनाएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ ।