सिरहामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण
सिरहा। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि प्रशिक्षण सुरु हुने जनाएको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवका अनुसार प्रशिक्षण सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा सञ्चालन हुनेछ। प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का मतदान अधिकृतका लागि फरक–फरक मितिमा प्रशिक्षण सञ्चालन गरिनेछ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ र २ तथा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का सहायक मतदान अधिकृतका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण मिति निर्धारण गरिएको छ । प्रशिक्षण १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
‘तोकिएको मिति र समयमा सम्बन्धित सबै अधिकारी अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ,’ कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
प्रशिक्षणमा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, आचारसंहिता पालना, मतगणना प्रक्रिया तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने जनाइएको छ। यस प्रशिक्षणले निर्वाचन कार्यलाई थप प्रभावकारी, मर्यादित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ।
जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई समयमै उपस्थित भई प्रशिक्षण सफल बनाउन आग्रह गरेको छ।