npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

दूरीको दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

पालिका ब्यूरो 3 days ago

खोटाङ, – पूर्वी तराईसँग जोड्ने छोटो दूरीको दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरमा रहेका ठूला चट्टान फुटाउने काम सुरु गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरमा सडक अवरोध बनेका चट्टान हटाउन थालिएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटअन्तर्गत ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७ हजार ८४७ मा सम्झौता गरी चट्टान फुटाउने काम सुरु गरेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिए ।

दिक्तेल बजारलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले यस सडकलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्न राजापानीस्थित घर्तीभिर मुख्य बाधक बन्दै आएको थियो । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक अन्य मार्गभन्दा करिब साढे १७ किलोमिटर छोटो पर्ने भएकाले प्रदेश सरकारबाट बजेट विनियोजन गराएर काम अघि बढाइएको हो ।

उनका अनुसार नगरपालिकाले आफ्नै बजेटबाट दिक्तेलदेखि घर्तीभिर र रेग्मीटारदेखि घर्तीभिरसम्म कच्ची सडक निर्माण गरिसकेको छ । अब चट्टान हटेपछि यसै वर्ष सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यस सडक सञ्चालनमा आए पूर्वी तराईका जिल्लासँग आवतजावत सहज हुने, खाद्यान्न, इन्धन, हार्डवेयरलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, निर्माणाधीन दिक्तेल–रेग्मीटार सडकअन्तर्गत पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ। प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत प्राप्त रु तीन करोड बजेटमा पिङ्गला अन्सुरी फूलबारी जेभीले रु दुई करोड ७० लाखमा ठेक्का लिएर ट्रस पुल निर्माण सुरु गरेको कन्सल्टेन्सी इन्जिनियर अङ्कित भट्टराईले जानकारी दिए ।

वर्षात्को समयमा पुल अभावका कारण करिब छ महिना यातायात अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ। छोटो दूरीको सडक निर्माणसँगै जिल्लाको आर्थिक, सामाजिक र यातायात क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category