npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी राजस्व

इन्द्र कमल रोक्का 5 hours ago

जुम्ला । जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु २५ करोड २८ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले रु २९ करोड ३० लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले चालु आवको चैतसम्म आयकरतर्फ रु २१ करोड ७३ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु १८ करोड १८ लाख ५७ हजार सङ्कलन भएको जानकारी दिए । उनका अनुसार भ्याटतर्फ रु पाँच करोड ४० लाख २७ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु पाँच करोड ३२ लाख ३९ हजार अर्थात् ९८ दशमलव ५४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

यसैगरी अन्तशुल्कतर्फ रु एक करोड ३७ लाख तीन हजारमध्ये ७५ दशमलव सात प्रतिशत राजस्व सङ्कलन भएको छ । बहालकरतर्फ ८० लाख ११ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा ६६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले उल्लेख गरे ।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यावहारिक कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कर अधिकृत घिमिरेले बताए । उनका अनुसार कार्यालयले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउने गरी काम भइरहेको छ ।

बक्यौता रहेको कर असुली गर्नका लागि कार्यालयले काम गरिएको छ । नक्कली बिलबिजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्ने, करको परीक्षण र अनुसन्धानको दायरालाई फराकिलो बनाउनेलगायत काम गरेमा राजस्व सङ्कलनको दरमा सुधार गर्न सकिने प्रमुख कर अधिकृत घिमिरेले धारणा राखे ।

कार्यालयमा आयकरमा दर्ता भएका १६ हजार ९२२ जना करदाता छन् । भ्याटमा दर्ता भएका एक हजार ७१७ र अन्तशुल्कमा दर्ता भएका ५८२ जना करदाता रहेका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

व्यक्तिगत रूपमा स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट जारी गर्ने यहाँका स्थानीय तहलाई पटकपटक तोकता गर्दा पनि कुनै सुनुवाइ नभएको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनका अनुसार सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहबाट प्यान लिने व्यवस्था गरेको छ । उक्त कार्यालयको जुम्लासहित मुगु र कालीकोट जिल्ला कार्यक्षेत्रभित्र पर्दछन् ।

Read more news from Kendrabindu

Explore by Source or Category