जब हाँस्थे कमरेड काशीनाथ
घरमा रैथाने वा आप्रवासी पक्षीहरूले गुँड लगाउनुलाई ‘शुभ–संकेत’ मानिन्छ। पक्षीहरूले आफ्नो घरमा आश्रय लेऊन् भन्ने पवित्र भावनाले नै हुनुपर्छ, पहिला पहिला मानिसहरूले आफ्ना घरमा मटान बनाउँथे। त्यस्ता मटानमा पक्षीहरूले गुँड लगाउँथे, अन्डा कोरल्थे र बच्चा जन्माउँथे। रैथानेहरू यतैतिर बस्थे, आप्रवासी भने ‘पखेटा’ फिँजाउँथे र आफ्ना बचेराहरूलाई लिएर हामीले भन्ने देश–देशान्तरतिर हान्निन्थे। प्रातकालीन परिवेशले उपस्थिति जनाउनुअघि परेवाहरूको घुरघुर, भँगेराको चिरबिर र गौँथलीका स्वरलहरीले मानिसलाई ब्युँझिन प्रेरित गर्थ्यो र त्यसले दिनभरिका लागि मानसिक ऊर्जासमेत दिलाउँथ्यो।
गाउँ–सहर, दुवैतिरका पुराना घरहरूमा अझै त्यस्ता मटान देख्न सकिन्छ। आधुनिक शैलीका भवनको संख्या बढेसँगै पक्षीहरूका लागि मटान लोप हुन थालेका छन्। मानिस र पक्षीबीचको आत्मीय सम्बन्ध र सौहार्द पटाक्षेप हुनुमा आधुनिक भवनले भूमिका खेल्दै गएको देखिन्छ। त्यही भएरै हुनुपर्छ, सहर–बजारका घरका छत, ट्यांक र रेलिङहरूमा मधुर नाद–उपनादसहित सुसंस्कृत रूपमा घुर्ने परेवा, भँगेरा र गौँथलीहरू बस्दैनन् अचेल। ती थलोमा कागहरूले आधिपत्य जमाउन थालेका छन्। तिनका कर्कश, उदेकलाग्दो र सौन्दर्यहीन स्वर सुन्न अभिशप्त छौँ हामी।
००
यो इतिहास बनिसकेको विषय होइन। त्यस समय अर्थात् करिब साढे दुई दशकअघिको प्रसंग हो, नेकपा (एमाले) मुख्यालय, बल्खुको पाँचतले भवनको छतमा प्रायः काग बस्दैनथे। छतमा धेरै त परेवा नै विराजमान हुन्थे। बार्दलीनिर स्थायी रूपमा बसोबास गरिरहेका परेवा कहिले छानामा, कहिले पर्खाल र कहिलेकाहीँ चौरमा समेत बस्थे, उड्थे र सुमधुर स्वरमा घुर्दै त्यस ठाउँलाई वातावरण–अनुकूलित तुल्याउँथे।
सोही समयताका हो, बल्खु दरबारको दैनिक कामकाज सम्हाल्ने ‘अख्तियारी पाएर’ एमालेका भद्र नेता काशीनाथ अधिकारी झुल्किएका थिए। सफेद अनुहारसहित। सरल, नम्र, निश्छल र आत्मीय व्यवहार प्रदर्शन गर्ने अधिकारीको हाँसो भने बेजोडकै सुनिन्थ्यो। उनी हाँस्दा निश्छल, निःसंकोच ढंग एवं भावभंगी प्रदर्शन गर्थे। उनको हाँसो कार्यकक्षभित्र मात्र सीमित थिएन, कार्यालयबाहिरको प्रांगणलाई समेत शक्तिशाली रूपमा स्पर्श गर्न आइपुग्थ्यो। अझ केही मिटर दूरीनजिकको बल्खु खोलासम्मै कमरेड काशीनाथको हाँसो सुनिनु अनौठो विषय मानिँदैनथ्यो।
नेतृत्व तहमा रहेका कतिपय नेताका मुस्कान भने समृद्ध लाग्थे। कुनै समस्या, संकट एवं तनावबाट सर्वथा मुक्त मुस्कान स्वाभाविक हुन्छ।
काशीनाथको त्यस्तो हाँसोलाई लिएर त्यतिबेला मजाक नै चल्थ्यो। एउटा मजाक थियो, ‘कमरेड काशीनाथ हाँस्दा पार्टी कार्यालयको धुरीमा बसेका परेवाहरूसमेत उड्छन्।’
वाह! कति गजबको हाँसो!
काशीनाथको हाँसो कुन स्तरको हाँसो थियो? उच्च वा तुच्छ? सानदार वा दरिद्र? मौलिक वा बनावटी? रैथाने वा आयातित? मौसमी वा बेमौसमी? सुस्पष्ट वा गन्जागोल? कोही-कसैसँग पनि उनको हाँसोको तह एवं परिधि नाप्ने यन्त्र थिएन। किनभने, काशीनाथ हाँस्दाखेरि भने ‘हाँसूँ कि नहाँसूँ’ को द्विविधामा अल्झिएर हाँस्दैनथे पटक्कै। हाँस्थे खुला, स्वतन्त्र एवं स्वच्छन्द तरिकाले। एक हिसाबले उनको हाँसो अरूका निम्ति ईर्ष्याजन्य लाग्थ्यो– शक्तिशाली र अभिजातीय शैलीले भरिपूर्ण!
अधिकारीकै पार्टी एमालेका उपल्लो तहका ‘समृद्ध–मान’ अधिकांश नेताहरू भने ‘हाँसूँ कि नहाँसूँ’ को दोधारमा उभिएर हाँस्थे। कोही ‘फिस्स’ हाँस्थे, कोही ‘ङिच्च’ हाँस्थे र कोही भने गाला मात्रै यताउता तन्काएर हाँस्थे। पूरै बनावटी प्रकृतिका! अधिकांश नेताले भने हाँस्नुको विकल्पमा मुस्कान मात्रै प्रकट गर्दथे। विदित विषय हो– मुस्कानले हाँसोको प्रतिनिधित्व गर्दैन। मुस्कानले मात्र कुनै पनि मानिसको मन छाम्न सकिँदैन। अधिकांश मुस्कान त कुटिल नै हुन्छन्। हाँस्न नसक्ने वा हाँस्न नचाहनेले नै मुस्कानको सहारा लिन्छन्। हाँस्नेहरू ‘ध्वनि प्रसारण’ मा जति सक्षम हुन्छन्, मुस्कान छर्नेहरू प्राय: शून्य लाग्छन्।
नेतृत्व तहमा रहेका कतिपय नेताका मुस्कान भने समृद्ध लाग्थे। कुनै समस्या, संकट एवं तनावबाट सर्वथा मुक्त मुस्कान स्वाभाविक हुन्छ। कुनै नेतृत्व गणको मुस्कान भने स्तरहीन देखिन्थ्यो। लाग्थ्यो– स्तरहीन मुस्कान प्रदर्शन गरेर खुसी हुनुभन्दा बरु तिनले मुस्कान नै प्रकट नगरेको भए हुन्थ्यो! कम्तीमा स्तरहीन मुस्कानको ‘अमेरिकानो’ पिउनबाट तमाम कार्यकर्ता बँच्न त सक्थे!
००
‘मैले कम्युनिस्ट नेताहरू मुस्कुराइरहेको देखेको छु, उनीहरू कसरी मुस्कुराउन सिकेका हुन्?’ विनाकारण एउटा अज्ञात प्रश्न मसामु तेर्सियो।
तत्कालै हाजिर भयो, जवाफ पनि, ‘कुनै सन्देह छैन, कम्युनिस्टहरूले मुस्कुराउन र हाँस्न बिरासतबाटै सिकेका हुन्।’
‘के मार्क्स मुस्कुराउँथे?’
सक्रिय शासनकालताका ख्रुस्चेभ पनि मुस्कुराएका थिए होलान् सायद। तर, रंग र ढंगबीच उचित संयोजन गर्न नसकेर उनले पटक पटक भड्खालोमा पाइला राखे।
उनले होवार्ड जिनलिखित मार्क्स इन सोहो पुस्तक पल्टाए र भने, ‘निश्चय नै! तपाईंले यो नाटक हेर्नुभयो? हेर्नुभएको छैन भने हेर्नुस्, एकपटक अवश्य। यो नाटक हेर्दा तपाईंले मार्क्सको मुस्कानलाई धेरै मिहिन तरिकाले महसुस गर्न सक्नुहुन्छ। के संसार बदल्न चाहने संकल्प लिएकाहरूका अनुहारमा मुस्कान नझल्किए अरूका अनुहारमा मुस्कान देख्न सकिन्छ र?’
‘लेनिन नि?’
‘उनी त झनै मुस्कुराउँथे। सबै मुस्कुराए, हाँसे। स्टालिन त मुस्कुराउनमा झनै तगडा थिए। उनी मुस्कुराइरहेका कैयौँ तस्बिरहरू म अझै देखाउन सक्छु। कतिपयले स्टालिनलाई क्रूर र कठोर शासक ठान्छन्, तर उनको मुस्कानमा कुनै क्रूरता देख्न सकिन्छ?’
उनले फेरि थपे, ‘सबैले उनलाई एक क्रूर शासक ठान्लान्, तर तात्कालिक सोभियत संघ निर्माण क्रममा उनी नै थिए, केन्द्रीय व्यक्तित्व…।’
एकाधलाई पन्छाऔँ– संसारका अधिकांश कम्युनिस्ट–वामपन्थी नेताका मुस्कुराउने कर्ममा कुनै द्विविधा देख्न सकिँदैन। माओको मुस्कान त ‘सदाबहार’ प्रतीत हुन्छ। उनको मुस्कानमा पक्कै पनि उनीद्वारा उत्पादित ‘कथित मुस्कान’ नहुन सक्छ। ताराअंकित नीलो क्याप लगाएर हाँसिरहेको उनको तस्बिरले जोकोहीलाई पनि लोभ्याउने क्षमता राखेको देखिन्छ। उनको हाँसोमा जति दृढ एवं विजयीभाव झल्किन्छ, त्यो अद्वितीय लाग्छ। सोही दृढ हाँसोले नै उनलाई क्रान्तिको मार्गमा पाइला तन्काउन सहयोगी भूमिका खेलेको हुनुपर्छ सायद। तसर्थ उनी गर्जिएका थिए, ‘क्रान्ति भनेको भोजभतेर होइन, न लेख लेख्नु हो, न चित्रकारी गर्नु हो, न कारचोपी भर्नु हो। यो त्यति परिष्कृत हुँदैन, त्यति सुबिस्ताको र नम्र हुँदैन, त्यो त्यति शान्त, दयालु, शिष्ट, संयमित र उदार हुँदैन। क्रान्ति भनेको विद्रोह हो, हिंसाद्वारा गरिने यस्तो क्रिया हो, जसबाट एउटा वर्गले अर्को वर्गलाई पल्टाइदिन्छ।’ किम इल सुङ, हो ची मिन्ह, फिडेल क्यास्ट्रोका मुस्कानयुक्त तस्बिर देख्दा उनीहरू पनि मुस्कुराउँथे भनिरहनुनपर्ला। हाम्रै भूभागका उपजहरू क्रमशः पुष्पलाल, मनमोहन, मदन भण्डारीका हाँसो र मुस्कानले भरिएका तस्बिरहरू प्रस्टै देख्न सकिन्छ। कसले प्रश्न उठाउन सक्छ, ‘कम्युनिस्ट हाँस्दैनन्? कम्युनिस्ट मुस्कुराउँदैनन्?’
कार्ल मार्क्सले उहिल्यै भनेका थिए, ‘अहिलेसम्मका दार्शनिक/चिन्तकले केवल संसारको व्याख्या मात्र गरे, मुख्य प्रश्न त संसारलाई बदल्नु हो।’ प्रश्न उठ्छ– के संसारलाई बदल्न चाहने वा बदल्न अग्रसर हुने कतै नहाँसीकन बस्न सक्छन् र? नमुस्कुराई बाँच्न सक्छन् र? जड पदार्थ मात्र हाँस्न सक्दैनन्, मुस्कुराउन सक्दैनन्।
सक्रिय शासनकालताका ख्रुस्चेभ पनि मुस्कुराएका थिए होलान् सायद। तर, रंग र ढंगबीच उचित संयोजन गर्न नसकेर उनले पटक पटक भड्खालोमा पाइला राखे। उनको मुस्कान पारदर्शी थिएन। मुस्कानको तालमेल मिलाउन नसक्दा उनले तत्कालीन सोभियत संघका प्रख्यात कवि बोरिस पास्तरनाकलाई प्रताडित तुल्याए। पास्तरनाक भने इस्पातझैँ थिए। उनले लेखे/लेखिरहे। पछि नोबेल साहित्य पुरस्कारबाट सम्मानितसमेत भएका पास्तरनाकले लेखे–
धर्तीभरि चारै दिशा
हिउँ नै हिउँ व्याप्त थियो
टेबुलमाथि मैनबत्ती एउटा
बलिरह्यो, बलिरह्यो…।
ख्रुस्चेभले हडबडे शैलीलाई पछ्याउन चाहे। उनको शैलीप्रति आलोचना गर्दै बेलायतका तत्कालीन प्रधानमन्त्री चर्चिलले एकपटक सुझावसमेत दिएका थिए, ‘श्रीमान् ख्रुस्चेभ, तपाईं ठूला ठूला सुधार गर्दै हुनुहुन्छ। यो राम्रो कुरा हो। म तपाईंलाई धेरै हतार नगर्ने सल्लाह दिन्छु। दुई फड्कामै भीर पार गर्न सजिलो हुँदैन, खुर्मुरिन सकिन्छ।’
सत्ता र शक्तिको भाषा–शैली बुझ्न अधिकांश मानिस सक्षम हुँदैनन्। सत्ता एवं शक्तिधारीहरूको मुस्कानमा निहित अनगिन्ती सौन्दर्य, सान र सज्जाहरू पटक्कै बुझ्दैनन् र उनीहरू नै दुःख, पीडा झेल्ने मनुवाहरूको सूचीको उपल्लो तहमा विराजमान हुन पुग्छन्।
अधिकांश राजनीतिकर्मी सत्ताबाहिर रहँदा मात्र उन्मुक्त, सानदार एवं प्रभावकारी हाँसो प्रकट गर्न सक्षम देखिन्छन्। सत्ता र शक्तिमा मैमत्त भएपछि त उनीहरूभित्रको हाँसो गायब हुन पुग्छ र केवल कुटिल हाँसो एवं मुस्कानको सहारा लिएर बाँच्न बाध्य हुन्छन् ती। परापूर्वकालदेखि नै यस्ता अनेक कुटिल हाँसो चल्दै आएको हो। महाभारतकालमा कुटिल हाँसो एवं मुस्कान प्रकट गर्नेको रत्तिभर कमी थिएन। स्वयम् कृष्ण पनि कुटिल हाँसोका ‘मुख्य प्रवक्ता’ मानिन्थे।
द्रौपदीको स्वयंवर हुँदै थियो। तर, जब प्रतियोगिताको समय आयो, तब द्रौपदीले सूतपुत्र भन्दै कर्णलाई प्रतिस्पर्धा गर्नबाटै रोकिन्। सोही समय दुर्योधनले एउटा सारगर्भित कुरा बताएका थिए, ‘मानिस र नदीको उद्गमको खोजी गर्नु आवश्यक छैन, यी दुवै फोहोर हुन्छन्।’
तिनै कर्णलाई युद्धको मैदानमा असहाय र निहत्था रहेका बेला अर्जुनले झुक्याएर प्रहार गरे। आफूलाई अर्जुनले झुक्याएर प्रहार गरेपछि कर्णले श्रीकृष्णलाई युद्धको नियम सम्झाए, धर्मको नियम सम्झाए। तर, श्रीकृष्णले कुटिल हाँसो देखाएरै भने, ‘कर्ण, जुन समय एक्ला अभिमन्युलाई असहाय अवस्थामा घेरघार गरेर सात महारथीले उसलाई प्रहार गरेका थिए, त्यो बेला तिम्रो धर्मोपदेश कुन कुनामा लुकेर बसेको थियो?’
सत्ताको भाषा जहिल्यै जटिल, क्लिष्ट एवं दुर्ज्ञेय साबित हुँदै आएको छ। र, त्यसमा कुटिलताका लेउहरू पनि उत्तिकै टाँसिएर बसेका हुन्छन्। अजातशत्रुले पिता बिम्बिसारलाई नजरबन्दमा राख्दा अरूले प्रश्न उठाउलान् भनेर कुटिल मुस्कान छर्दै भनेका थिए, ‘मैले महाराज–महारानीहरूको ज्यानलाई खतरा आएको हुँदा उहाँहरूकै सुरक्षाका लागि नजरबन्दमा राखेको हुँ।’
हुन पनि, सत्ता र शक्तिको भाषा–शैली बुझ्न अधिकांश मानिस सक्षम हुँदैनन्। सत्ता एवं शक्तिधारीहरूको मुस्कानमा निहित अनगिन्ती सौन्दर्य, सान र सज्जाहरू पटक्कै बुझ्दैनन् र उनीहरू नै दुःख, पीडा झेल्ने मनुवाहरूको सूचीको उपल्लो तहमा विराजमान हुन पुग्छन्।
कदापि, यसलाई संशोधनवादी लाइन नठानियोस्– मार्क्सले भनेझैँ, ‘मुख्य कुरा संसारको व्याख्या गर्नुभन्दा संसारलाई बदल्नु हो।’ नेताहरू हाँस्नु वा मुस्कुराउनु फरक पक्ष हो।
अतः म मिहिन एवं सारगर्भित रूपले कथ्दै थिएँ, काशीनाथ अधिकारीको हाँसो-कथा।
मलाई लाग्छ– हाँसो, यो धरातलमा बाँचिरहेका सबै प्राणीहरूको मौलिक एवं नैसर्गिक अधिकार हो। गलत हाँसो हाँस्ने छुट कसैलाई पनि छैन। पुराकथाले भन्छ कि– द्रौपदीको एक गलत हाँसोको कारण ‘महाभारत’ निम्तिएको थियो। ख्रुस्चेभको हाँसोको कमीकै कारण अलेक्जेन्डर सोल्जेनित्सिनले आफ्नै महान् भूमिबाट पलायनको ‘बोर्डिङ–पास’ लिनुपरेको थियो। तिनै महान् रुसी लेखकलाई सोभियत संघ विघटनको केही दशकपछि तत्कालीन राष्ट्रपति भ्लादिमिर पुटिनले हार्दिकतापूर्वक सम्मान गरेका थिए। एउटा शासकले खोसेको सोल्झेनित्सिनको मुस्कानलाई धेरै वर्षको अन्तरालपछि अर्का शासकले ससम्मान फर्काइदिएका थिए। तर, आफ्नो हाँसो खोसिँदा सोल्झेनित्सिन युवा थिए, ऊर्जावान् थिए र उर्वर कालखण्डमा बाँचिरहेका थिए। उनको खोसिएको/गुमेको हाँसो फिर्ता हुँदा भने उनी वृद्धावस्थाका दिनहरू गन्दै थिए।
००
नेताहरू हाँस्छन्। निश्चय नै हाँस्न जानेका हुन्छन् उनीहरूले। देखावटी र सहज, दुवै अनुपातको हाँसो। श्रद्धेय काशीनाथ अधिकारीको हाँसोलाई अनौठो रूपमा पेस गर्न मिल्दैन। उनी हाँस्दाखेरि तत्कालीन बल्खु दरबारको छतमा मस्त रूपले आराम गरिरहेका परेवाहरू उड्नु स्वाभाविकै ठानिन्थ्यो। किनभने, बल्खु दरबार परिसरमा ‘हाँस्ने’ नेताहरूभन्दा ‘मुस्कान छर्न रुचाउने’ नेताहरूकै बाहुल्य देखिन्थ्यो।
कदापि, यसलाई संशोधनवादी लाइन नठानियोस्– मार्क्सले भनेझैँ, ‘मुख्य कुरा संसारको व्याख्या गर्नुभन्दा संसारलाई बदल्नु हो।’ नेताहरू हाँस्नु वा मुस्कुराउनु फरक पक्ष हो। मुख्य कुरा त, आम जनताका ओठमा मुस्कान भित्र्याउनु हो। तत्कालीन बल्खु दरबारका परेवाहरू उड्ने तहका हाँसो मात्र नभई वन–उपवन, झाडी, बगैँचाहरूमा विचरण गरिरहेका अनेकौँ पक्षीहरू उड्ने गरी आवाज वा ध्वनि प्रसारण गरेर हाँस्नु हो।
अतः काशीनाथ अधिकारीको हाँसोलाई ‘जदौ’ वा ‘लालसलाम’ टक्र्याउनुअघि यति कुरा थप्न सान्दर्भिक लाग्यो–
आगामी दिनहरूमा एमाले परिसर वा वृत्तभित्र काशीनाथको हाँसो सायदै सुन्न सकिएला! कुनै समयको समृद्धशाली बल्खु दरबार त उहिल्यै भत्किइसक्यो। त्यसयताका नवनिर्मित दरबारहरूका छत वा गजुरहरूमा मधुर स्वरलहरी फिँजाइरहेका परेवाहरूका स्वर पनि सुन्न कठिनै पर्ला अब।
मंसिर–पुसको यो चिसो र कठ्यांग्रिँदो मौसममा म चिन्ताको परिधिभित्र समेटिएको छु र सोचिरहेको छु– काशीनाथ अधिकारीको निष्कपट एवं निरपेक्ष भावभंगीअंकित हाँसो अब अनुवर्ती पुस्ताले एमालेको बाँकी जीवनकालमा सायदै पाउला! अथवा, मतिरोधले भरिएका पंक्तिबीच उनको हाँसो हावामा तैरिएला वा त्यसले कुनै ठोस र सार्थक सन्देश प्रवाह गर्ला?
म काशीनाथ अधिकारीको ‘आगामी’ हाँसोको प्रतीक्षामा व्यग्र छु।
००