आर्यघाटमा कविताको रिहर्सल र नगरकोटीको भद्र अवज्ञा
काठमाडौँ । कसैकसैलाई कुमार नगरकोटी ‘लक्जरी लुक’ लाग्न सक्छ । तर त्यो रङ्गीबिरङ्गी कपडाको संयोजन होइन, भद्र अवज्ञा हो । नगरकोटी सजिएर कवि बनेका होइनन्, कवि भएर सजावटमुक्त भएका हुन्। त्यसैले उनको लुक ‘स्टायलिस’ छ, तर स्टाइल देखाउन होइन, स्टाइलको सत्ता भत्काउन ।
नगरकोटी कुनै चम्किलो सजावट होइन, त्यो त शान्त आत्मविश्वासको पोशाक हो। ठ्याक्कै नगरकोटिएन क्लासिक कविताजस्तै दुर्लभ शब्द, अर्थ प्रशस्त । नगरकोटियन ‘स्टायलिस स्टाइल’ हुलिया उनको लेखनजस्तै अनौठो तर चुम्बकीय छ ।
काव्यिक मञ्चतिर चिहाउँदाखेरि लाग्छ, नगरकोटी कुनै कवि होइनन्, कविताले नै मानव पहिरन लगाएको हो । उनका लागि कवितावाचन केवल शब्दोच्चारण होइन; त्यो सुन्दर पर्फर्मेन्स हो, जहाँ मौनता पनि बोल्छ, विरामचिह्न पनि हल्लिन्छ र पाठक–दर्शकको चेतना हल्का काँप्छ ।
पुस १० गते काठमाडौँको राष्ट्रिय सभागृहमा हुन लागेको ‘यदाकदा: साङ्गीतिक काव्य सन्ध्या’ मा कविता, सङ्गीत र साँझ एक–अर्कासँग छायाजसरी भेटिनेछन् । त्यहाँ नगरकोटी कविता मात्रै पढ्ने छैनन्, आफैँ कविता भएर उभिनेछन् ।
नगरकोटीका कविता हरफमा एकोहोरो हिँड्दैनन् । उनका कवितामा कथा हुन्छ, तर कथावाचन हुँदैन । भाव हुन्छ, तर भावुकता प्रदर्शन हुँदैन । दर्शन हुन्छ, तर उपदेश हुँदैन । खासमा नगरकोटी शब्दलाई अनुशासन होइन, स्वतन्त्रता दिने कवि हुन् ।
नगरकोटी मञ्चमा उभिँदा कविता सुरु हुँदैन, समय अलिक ‘स्लो’ हुन्छ । शब्दहरू लाइनमा आउँदैनन् । ती त भीडमा जस्तै ठेलमठेल गर्दै आउँछन्। कुनै शब्द अगाडि पुग्छ, कुनै शब्द हराउँछ । कुनै शब्द फेरि भेटिन्छ, जिन्दगीजस्तै ।
आजको जीवन रुटिनमा यति व्यस्त छ कि अस्तित्व नै अस्तव्यस्त बनेको छ । ‘यदाकदा’ यही अस्तव्यस्ततामा एकछिनको टेक्ने ढुङ्गो हो, अस्तव्यस्त जीवनलाई हल्का टेको हो । यदाकदा भनेको बीच–बीचमा नहुनु हो । बीच–बीचमा मौन हुनु हो । बीच–बीचमा आफैँबाट छुट्टी लिनु हो ।
राष्ट्रिय सभागृहको विशाल प्रेक्षालयमा पहिलो पटक देशको नामचीन कविलाई प्रस्तुत गर्न लागेको कम्युनिकेट टेक्नोलोजी प्रा.लि.का मिडिया प्रमुख राजन गोदारका शब्दमा जीवनको धपेडीबीच एकछिन थकान मेट्ने कविता र सङ्गीतको आत्मिक विश्राम हो, ‘यदाकदा’। कविता र सङ्गीतमार्फत मौनतालाई सुन्ने, सन्ध्याकालीन सिरेटोलाई सुमसुम्याउने र अँध्यारो अनुभूतिलाई साझेदारी गर्ने अवसर हो। उनकै शब्दमा यदाकदा, जिन्दगीको रुटिनदेखी विरक्त लागेर कल्पना गरिएको सो हो । सशुल्क, टिकट बेचेर कविता सुनाउँछु भन्नु हाम्रो समाजमा ठूलै धृष्टता हो । कविता सुनाउन मुश्किल छ, टिकट बेचेर त झनै मुश्किल । थाहा हुँदाहुँदै पनि यो साहस, दुस्साहस जे होस् गरियो । हेरौं, आफ्नै भाषा, साहित्य, सृजना, सर्जकसँग हाम्रो प्रेम कस्तो छ ।
उसो त नगरकोटीका शब्दहरूलाई सङ्गीतमा बाँध्नु सजिलो काम होइन। तर यही चुनौतीलाई प्रयोगशील युवा सङ्गीतकार अनुप तिमिल्सिनाले स्वीकारेका छन्। अनुप केवल धुन बजाउँदैनन्, मौनतालाई ताल दिन्छन्। उनको सङ्गीत कवितामाथि चढ्दैन, बरु कविताभित्र पस्छ। शब्दलाई ढाक्दैन, शब्दको साससँगै बग्छ। यस साङ्गीतिक काव्य सन्ध्यामा सङ्गीत कुनै पृष्ठभूमि होइन—सहसंवाद हो।
साँझ भनेको पनि कविता नै हो । यत्ति हो, उसले आफूलाई कविता भन्दैन । साँझ दिनको थकानले आँखा बन्द गर्न खोजेको समय हो। त्यही बेला कविता बोल्न खोज्छ, सङ्गीत सुन्न थाल्छ र मौन—दुवैको बीचमा कुर्सी तानेर बस्छ। त्यही गोप्य सम्झौतापछि एउटा जुगलबन्दी हुन्छ, ‘यदाकदा’।
‘यदाकदा’को रिहर्सल विगत २१ दिनदेखि शिल्पी थिएटरमा चलिरहेको छ। नयाँ कविता, ‘बोहेमियन खानाबदोश’ भने नगरकोटीले शिल्पीको सनातन मञ्चमा होइन, आर्यघाटमा रिहर्सल गरे। ‘हामीले घाटमा यलम्बर बाजासँग बोहेमियन खानाबदोश गुनगुनायौँ, जीवन र मृत्युको बीचमा बसेर’, नगरकोटी भन्छन्, ‘कहिलेकाहीँ कविता सुन्ने मात्र होइन, मनले गुनगुनाउने पनि हुन्छ।’
‘यदाकदा’ साँझमा नगरकोटी कविता भएर उभिनेछन्, अनुप तिमिल्सिना धुन भएर बग्नेछन् र हामी आफैँसँग भेट्नेछौँ।
कहिल्यै नमेटिने तृष्णाको धपेडीमा कति दौडिने? अस्तित्वलाई कहिलेसम्म ओभरटाइममा राख्ने? यो कुनै प्रश्न होइन, बरु एक साँझ कविता र सङ्गीत सँगसँगै बस्ने सुमधुर प्रस्ताव हो।
कार्यक्रम
यदाकदा, साङ्गीतिक काव्य सन्ध्या | राष्ट्रिय सभागृह हल, काठमाडौँ
कविता : कुमार नगरकोटी | सङ्गीत : अनुप तिमिल्सिना
पौष १०, २०८२ (बिहीबार) | साँझ ५:००–७:३०
