npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

रविलाई अर्को धक्का, रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले त्यागे पार्टी

अनलाइन टीभी नेपाल 6 hours ago

काठमाडौं । पार्टीभित्र अराजकता र आर्थिक विचलन मौलाएको भन्दै रास्वपा बागमती उपसभापति दिनेश हुमागाईले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार महामन्त्रीलाई राजीनामा पत्र बुझाउँदै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । हुमागाई २०७९ को निर्वाचनमा काभ्रे २ बाट रास्वपाको प्रत्यक्ष उम्मेदवार थिए । ‘आजको मितिदेखि पार्टीको उपसभापति पद तथा साधारण सदस्यता दुवैबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गर्दछु।

यो निर्णय कुनै आवेग, व्यक्तिगत स्वार्थ वा क्षणिक असन्तोषको परिणाम नभई, पार्टीभित्र मौलाउँदै गएको संरचनागत विकृति, आन्तरिक लोकतन्त्रको ह्रास, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरको नैतिक विचलनप्रतिको गम्भीर असहमतिको अभिव्यक्ति हो,’ उनले राजीनामा पत्रमा भनेका छन् । हुमागाईले पार्टी परित्याग गर्नुमा उम्मेदवार छनोटमा चरम चलखेल, केन्द्रीय संरचना विस्तारमा अपरादर्शिता, सदस्यता तथा आर्थिक पारदर्शितामा गम्भीर प्रश्न, विधान उल्लंघन र आन्तरिक लोकतन्त्रको समाप्ति, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, नेतृत्वमामथि नैतिक प्रश्न, पार्टीको संरचनागत विकृति र निजी स्वार्थ जस्ता सातबुँदे असन्तुष्टि जनाउँदै रास्वपा छाडेका हुन् ।

‘आफैंभित्रको विकृति सच्याउन नसक्ने, आन्तरिक लोकतन्त्रको सम्मान नगर्ने, पारदर्शिता कायम नगर्ने र नैतिक बल गुमाइसकेको संगठनले राष्ट्र निर्माणको दाबी गर्नु केवल नारामात्र हुन सक्छ। पहिले आफू स्वच्छ, पारदर्शी र उत्तरदायी बन्ने, त्यसपछि मात्र देश बनाउने यही मूल मान्यताप्रति मेरो अडान अटल छ। त्यसकारण, उपरोक्त कारणहरूका आधारमा म बागमती प्रदेशको उपसभापति पद तथा पार्टीको साधारण सदस्यता दुवैबाट आजैका मितिदेखि अलग भएको औपचारिक घोषणा गर्दछु,’ हुमागाईले राजीनामा पत्रमा भनेका छन् ।

बुधबार मात्र रास्वपा मधेश प्रदेश सभापति ममता शर्मा, संस्थापक सदस्य उर्मिला भुर्तेलले पार्टी छाडेका थिए । ममता शर्मा बुधबार नै कांग्रेस प्रवेश गरिसकेकी छन् । भुर्तेल र हुमागाई पनि कांग्रेस प्रवेश गर्ने बताइन्छ । यसअघि मधेशका चर्चित रास्वपा नेता दीपक महतोले पनि पार्टी छाडेका थिए । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेन देशभर चुनावी दौडमा लागेकै बेला पार्टी छाड्नेको लहर चलेको हो ।

Read more news from Online Tv Nepal

Explore by Source or Category