Taksar News
एमालेको ऊर्जा योजना : ‘स्वच्छ ऊर्जा निर्यातक नेपाल’ बनाउने लक्ष्य, उत्पादन र खपत दोब्बर बनाइने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि सार्वजनिक घोषणापत्रमा नेपाललाई दक्षिण एसियाको “स्वच्छ ऊर्जा निर्यातक” देशका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।
घोषणापत्रअनुसार जलविद्युत, सौर्य र ग्रीन हाइड्रोजनलगायत नवीकरणीय ऊर्जाको उत्पादन, प्रशारण र वितरण आयोजनाहरू तीव्र गतिमा सम्पन्न गरी ऊर्जा सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ। विद्युत उत्पादन र प्रतिव्यक्ति विद्युत उपभोग दुवैलाई दोब्बर बनाउने लक्ष्य पार्टीले लिएको छ।
एमालेले स्वच्छ ऊर्जा पूर्वाधार निर्माणमा राज्यको लगानी वृद्धि गर्ने र निजी क्षेत्रलाई उत्पादनसँगै प्रशारण लाइन निर्माण तथा विद्युत निर्यातमा संलग्न हुन अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ। जलविद्युत, सौर्य र ग्रीन हाइड्रोजनको समन्वित विकासमार्फत ऊर्जा आपूर्तिको विश्वसनीय प्रणाली स्थापना गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
हिउँदमा समेत विद्युत अभाव नहुने गरी माथिल्लो अरुण जलविद्युत आयोजना, दुधकोशी जलविद्युत आयोजना र बुढी गण्डकी जलविद्युत आयोजना जस्ता ठूला परियोजनाको कार्यान्वयन अघि बढाइने एमालेको प्रतिबद्धता छ। निजी क्षेत्रका विद्युत आयोजना तोकिएको समयमै सम्पन्न गराउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
ऊर्जा–सिँचाइ एकीकरणतर्फ सुनकोशी–मरिन नदी पथान्तरण आयोजना र भेरी–बबई नदी पथान्तरण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कृषि, उद्योग, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र वित्तीय क्षेत्रबाट बढ्दो ऊर्जा मागलाई प्राथमिकताका साथ आपूर्ति गरिने एमालेको योजना छ।
घोषणापत्रमा घरेलु विद्युत खपतलाई प्रोत्साहन गर्ने, तराई र उपत्यकामा डीप बोरिङ तथा लिफ्ट सिँचाइका लागि आवश्यक विद्युत सुपथ महसुलमा उपलब्ध गराउने तथा सामुदायिक विद्युतीकरणलाई थप प्रोत्साहन गर्ने कार्यक्रम पनि समेटिएका छन्।
सामुदायिक विद्युत उपभोक्ता संस्थाहरूको दिगो व्यवस्थापनका लागि मौजुदा नीति–कानुन पुनरावलोकन गर्ने र ग्रामीण क्षेत्रमा साना–मझौला उद्योग तथा कृषि आधुनिकीकरणका लागि ऊर्जा पहुँच विस्तार गर्ने एमालेको प्रतिबद्धता छ।
एमालेले स्वदेशमा खपत बढाउँदै हरित ऊर्जा विदेश निर्यात गर्ने रणनीतिमार्फत दीर्घकालीन आर्थिक वृद्धि र ऊर्जा–आधारित विकास मोडेल स्थापना गर्ने लक्ष्य राखेको जनाएको छ।