npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

चुनावी एजेन्डामा मोरङको मुसहर बस्ती : जनताको आशा सानो पुल र डुबानबाट उन्मुक्ति

Sahayog Ranjit 7 hours ago

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर १२ को मुख्य सडकबाट करिब ७०० मिटरको दुरीमा पर्छ बक्री सिमराह टोल। सयभन्दा धेरै घरधुरी रहेको यस बस्तीमा चुनावी गतिविधि मुलुकका अन्य भेगमा भन्दा तुलनात्मक रुपमा कम नै देखिन्छ।

एक हिसाबले यहाँका मतदातालाई चुनावको चासो राख्‍ने फुर्सद पनि छैन किनकि बाध्यताले बाँधेको छ। उनीहरू दैनिक गुजाराका लागि यति व्यस्त छन् कि राजनीति र चुनाव दुवै प्राथमिकता भन्दा पर नै पर्छ। त्यसैले उनीहरूमा भोट माग्ने आउने उम्मेदवारसँग न त कुनै प्रश्न छ न कुनै ठूलो अपेक्षा नै।

६० वर्ष नाघेकी फुलेश्वरी देवीसँग हरेक वर्षायाममा बाढी आउँदा भोगेको कहरका अनगिन्ति कथा छन्। काखे नानी बोकेर सुरक्षित ठाउँमा शरण लिन पुग्नुपर्छ झरीको चाप बढेसँगै। केसलिया खोलाको डुबान उनीजस्तै यहाँका बासिन्दाका लागि नियमित आकस्मिकता हो।

‘निर्वाचनको समयभन्दा पछि कसैले वास्ता गर्दैनन्,’ भोगिरहेको समस्याप्रति राजनीतिक नेतृत्वको नजरअन्दाजको पोको फुकाइन् फुलेश्वरीले, ‘दलका नेता आए र गए। उनीहरूले सधैँ हामीलाई यो र त्यो गर्नेमात्र भनेका छन्।’

यहाँ विपन्नताको चरम अवस्थामा रहेका मुसहरहरूको बसोबास छ। नजिकैको खोला बस्ती पसेपछि उनीहरू विस्थापित हुन थाल्छन्। उठिबास हुने र फेरि फर्केर आफ्नै भूमिमा जीवन गुजारा गर्नु उनीहरूको कर्म नै बनिसकेको छ।

जब खोलाको सतह बढ्न थाल्छ उनीहरू केही पर रहेको महेन्द्र मोरङ कलेजको भवनमा पुग्छन्। केही त्यहीँ ओत लाग्छन्। केही अर्को टोलतिर तर्किन्छन्। यस क्षेत्रमा २०७४ सालदेखि प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट शेखर कोइरालाले चुनावमा जित हासिल गर्दै आएका छन्। उनीभन्दा पहिले अरू दलकाका जनप्रतिनिधि चुनिएका थिए।

यहाँका मतदाताका लागि चुनावका उम्मेदवार अहिलेसम्म ‘जो आउँछन् कानै चिरिएका’ बनेको छ। सिंगो गाउँलाई लाग्छ- सबै नेताले उनीहरूलाई यसरी नै झुक्याइरहन्छन्। उनीहरूका अभिव्यक्तिमा त्यसैको आक्रोश देखिन्छ।

५० वर्षीय सानदेवले पनि पटक-पटक मतदान गरेर प्रतिनिधिसभामा आफ्नो प्रतिनिधि पठाइसकेका छन्। यस पटक फेरि पनि उनले भोट हाल्नेछन्।

उनलाई राजनीतिक दलका सभा सम्मेलनमा के भाषण हुन्छ अथवा राजनीतिक दलका चुनावी एजेन्डा के हुन् थाहा छैन। त्यसबारे चासो पनि खासै छैन किनकि आश्वासनले यहाँको समस्या समाधान भएको छैन।

उनी सचेत छन्- आउँदो वर्षामा उनको टोलले बाढीसँग प्रतिकार गर्नुपर्ने छ। झरी र बाढीबाट कसरी बच्ने चिन्ता उनमा छ। नेताका बोलीसँग विश्वास मरेको सुनाए उनले।

‘नेताहरू भनेकै झुटो कुरा गर्ने हुन्। अहिले भोट माग्न आउँदा हुन्छ भन्छन्। तर, पछि फर्किएर नै आउँदैनन्,’ सानदेवले सुनाए।

उनीहरूको टोल नजिकै एउटा पैनी छ। अहिले पनि पैनीमा पानी बगिरहेको देखिन्छ। वर्षामा खोलाको भेल यही पैनीमा छिर्छ र त्यसले ठूलो रूप लिनेगर्छ। यहाँका मतदातालाई आवतजावता पनि यही पैनीले अत्यासमा पार्छ।

झन्डै ७ मिटर चौडाइको यो पैनीमा प्रत्येक वर्ष ३ पटक बाँसको साँघु बनाउनुपर्छ। उनीहरूका लागि वारपारको अस्थायी विकल्प बनाउनु सामान्य जस्तै बनेको छ।

यति सामान्य कुरा पनि सरकारले नसुनेकोमा दुखेसो भने देखियो। उनीहरूलाई प्रतिनिधि सभा वा प्रदेश सभाको जिम्मेवारी के हो थाहा छैन। न त पालिकाको जिम्मेवारीबारे नै बुझेका छन्। कुनै पनि निर्वाचनमा उनीहरूको एउटै आशा- एउटा सानो पक्की पुल।

default

‘हामीलाई सानो पुल चाहिएको हो। यति कुरा त पूरा भएको छैन। ठूला-ठूला कुरा के होला र?,’ यहीका मतदाता हर्मु राजवंशीले भने।

महानगरभित्रको यस बस्तीभित्र सबै घरमा शौचालय छैन। महानगरापालिकाको यस्तो हविगत बत्तीमुनिको उज्यालो भन्दा फरक पर्दैन।

सहरबाट नजिक तर विकासबाट कोशौं दुर देखिन्छ यहाँको अवस्था। निर्वाचनमा नयाँ दल र नयाँ उम्मेदवार यस क्षेत्रमा पनि देखिएका छन्। तर, नयाँ न पुरानो, उनीहरू कसैलाई पनि विश्वास गर्ने पक्षमा छैनन्।

बिहे गरेर यहाँ आएपछि निलम चौधरीले दुई पटक भोट खसालिसकिन्। यस पटक पनि अघिल्ला चुनावमा जस्तै उनीसँग अनुत्तरित प्रश्न छ- सधैँको बाढीबाट कहिले मिल्छ उन्मुक्ति?

‘दैनिक नयाँ-नयाँ पार्टी आउँछन्। सबैले गर्छु भन्ने आश्वासन त दिएका छन्। तर, अब हामीमा विश्वास गुम्दै गएको छ,’ निलमले भनिन्।

फोटो/भिडियो : प्रविण रानाभाट

The post चुनावी एजेन्डामा मोरङको मुसहर बस्ती : जनताको आशा सानो पुल र डुबानबाट उन्मुक्ति appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category