रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार, कांग्रेसलाई लेखा समिति
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् । रास्वपाले संसदीय समितिको सभापतिका उम्मेदवार पनि टुंग्याएको छ ।
बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको हो । रास्वपाले कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशीष गजुरेल, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा सुशान्त वैदिकलाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा भने कांग्रेसलाई दिने तयारी भइरहेको छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल रहने अभ्यास छ । समितिका सभापतिको निर्वाचन शुक्रबार हुनेछ । आजै समितिका सभापतिहरूको मनोनयन हुनेछ । विपक्षी दलहरूको संयुक्त बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका हुन् ।