npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

लम्साल सम्पत्ति छानविन आयोगमा नियुक्त भएपछि ‘एमालेजन’ खुसी, एमाले कोटाबाट नियुक्ति खाएका सिलवालले दिए बधाई !

Sudarshan Shrestha 14 hours ago

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानविन आयोगमा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल नियुक्त भएपछि एमालेजनमा खुसियाली देखिएको छ । ‘केपी ओलीका मान्छे’ भनेर चिनिएका लम्साल रास्वपा सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगमा नियुक्त भएपछि एमालेजन खुसी भएका हुन् । 

यतिसम्म कि लम्सालको नियुक्तिमा सबैभन्दा धेरै एमालेको कोटाबाट नियुक्ति लिएकाहरु खुसी छन् । 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक हरि सिलवालले त उनीसँगको पुरानो फोटो सेयर गर्दै लम्साललाई बधाई नै दिएका छन् । 

‘आफ्नो अघि आएको कामलाई गम्भीरतापूर्वक मसिनोसँग गहिरिएर गर्न सक्ने र विषयलाई सरल र प्रभावकारी तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता भएका पहिला मेरा भाइ, बीचमा सहकर्मी, अहिले मित्र प्रकाश लम्सालज्युलाई नयाँ उच्च स्तरीय सम्पत्ति छानविन आयोगको सदस्यको जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना ।’, सिलवालले लेखेका छन् ।

लम्साललाई बधाई दिँदै सिलवालले लम्सालसँग खिचेको १९९५ को फोटो सेयर गरेका छन् । 

सिलवाल एमाले नेता विष्णु पौडेलका आफन्त हुन् । पौडेलका आफन्त भएकै कारण उनले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा एमाले कोटाबाट नियुक्ति पाएका थिए । सञ्चालकमा नियुक्त भएसँगै विवादमा तानिएका सिलवाल शक्तिकै आडमा हालसम्म सञ्चालक पदमा बसिरहेका छन् । 

यता लम्साल सोही बैंकका अडिटर हुन् । आफ्नै साढुभाई सिइओ भएको बैंकमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुनेगरि अडिट गरेका लम्साल हाल सम्पत्ति छानविन आयोगको सदस्य बनेपछि सिलवालसँगै एमालेजन पनि खुसी छन् । चर्चा यतिसम्म छ कि रास्वपा सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिनु भनेपछि सिलवालले लम्सालमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आफूलाई पदबाट नहटाउन लबिङ गरेका थिए ।

यति मात्र होइन, उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को उपाध्यक्ष बन्न लम्सालमार्फत अर्थमन्त्री फकाइरहेको चर्चा पनि चलेको छ । हामीले सो विषयमा बुझ्न उनलाई फोन गर्यौं, तर उनले  उक्त विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘मलाई थाहा भएन । जसले भनेको हो उसैलाई सोध्नुस् न है ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘मलाई केही थाहा छैन यो बारेमा ।’ 

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category