एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो
काठमाडौँ । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसबीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकासिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो ।
पछिल्लो पटक निगमले बिहीबार बिहान देखि लागू हुनेगरि डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ । गत चैत १ गतेको तुलनामा यो मूल्य ६६.९० प्रतिशतले धेरै हो । चैत १ मा एक लिडर डिजेलको मूल्य १ सय ४२ रुपैयाँ थियो ।
यस बिचमा पेट्रोलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । चैत १ गतेसम्म १५७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले २ सय १९ रुपैयाँ पुगेको छ । त्यसैगरी, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि यस बीचमा बढेर २ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसअघि चैत १९ मा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय २४ रुपैयाँले बढाएर २ सय ५१ रुपैयाँ पुर्याएको थियो ।
इन्धनमा भएको मूल्यवृद्धिका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरिसकेको छ । प्राधिकरणका अनुसार चल्तीका हवाई रुटमध्ये काठमाडौँ-भैरहवा यात्रा गर्दा अब यात्रुले अधिकतम ११ हजार १६ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो रुटको भाडा २ हजार ५ सय ३५ रुपैयाँले बढेको हो । यस्तै, सबैभन्दा बढी काठमाडौँ-धनगढी रुटका लागि २३ हजार ५९ रुपैयाँ तोकिएको छ । यो रुटको भाडा साविकको तुलनामा ५ हजार ४ सय ३५ रुपैयाँ बढेको हो ।
यस्तै, यातायात व्यवस्था विभागले पनि यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढाएको छ । साथै, तराइको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
नेपाल सरकारले पेट्रोलियम पदार्थमा सहुलियत नदिएको भने होइन । यसअघि सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शुल्क र पूर्वाधार विकास कर ५० प्रतिशतले घटाएको छ । यो भनेको पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ हो । तर अन्तराष्ट्रिय अभ्यास अनुसार यो अपर्याप्त भएको भन्दै सर्वसाधारणबाट सरकारको आलोचना समेत हुन थालेको छ ।