सेयर किनबेचका लागि लगानीकर्ताले जतिबेला पनि अर्डर गर्न सक्ने, मूल्य अर्डर सीमा बढ्यो
काठमाडौं। सेयर लगानीकर्ताले अब बजार बन्द रहेका बेला पनि किनबेचका लागि अर्डर गर्न पाउने भएका छन्। लगानीकर्ताले सेयर बजार खुला नरहेको अवधि अर्थात आफ्टर मार्केट अर्डर प्रविष्ट गर्न पाउने भएका हुन्।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधनपछि नेपाल स्टक एक्सचेन्जले आफ्टर मार्केट अर्डरको व्यवस्था सोमबारदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ।
नेप्सेले नयाँ व्यवस्था कार्यान्वयनका लागि ब्रोकरहरुलाई निर्देशन दिएको छ। अहिले लगानीकर्ताले प्रारम्भिक कारोबारमा १०:३० बजेदेखि कारोबार प्रणालीमा आदेश प्रविष्ट गर्न पाउने व्यवस्था छ। कारोबार अवधि ३ बजेपछि लगानीकर्ताले खरिद बिक्रीका लागि आदेश प्रविष्ट गर्न नपाउने व्यवस्थालाई संशोधन गरिएको हो।
नेप्सेमा नियमित कारोबार बन्द भएपछि कम्पनीको कायम अन्तिम मूल्यका आधारमा खरिद बिक्रीको अर्डर हाल्न सक्ने व्यवस्था लागू गरिएको छ। अहिले लगानीकर्ताले प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहेर गर्नुपर्ने व्यवस्था छ।
यस्तै, अब लगानीकर्ताले प्रारम्भिक कारोबार सत्र (१०:३० देखि ११ बजे)सम्ममा मूल्य अर्डर प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ। यस सत्रमा कारोबारर नभएका अर्डर नियमित सत्रमा प्रविष्टी गरी कारोकारर हुन्छन्।
निरन्तर कारोबार सत्र(११ बजेदेखि ३ बजेसम्म)मा कम्पनीको कायम मूल्यको ३ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्नेछ। यसअघि यस्तो सीमा २ प्रतिशत थियो।
The post सेयर किनबेचका लागि लगानीकर्ताले जतिबेला पनि अर्डर गर्न सक्ने, मूल्य अर्डर सीमा बढ्यो appeared first on BIZMANDU.