npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

काग्रेस २.० को चुनावी एजेन्डा: अहिलेसम्मकै लामो घोषणापत्र र प्रश्नोत्तरको रोचक श्रृङ्खला

Janak Oli 6 hours ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको राजनीतिक इतिहासमा नै पहिलो पटक प्रधानमन्त्रीका उम्मेदवारका रुपमा प्रतिज्ञापत्र (घोषणापत्र) र त्यसमाथिको प्रश्नोत्तरबाट चुनावी अभियानलाई अगाडि बढाएका छन्। घोषणापत्र ल्याउने तर त्यसमाथि कुनै बहसमा सहभागी नहुने ‘लिनियर’ शैलीको परम्परा तोड्दै राजधानीको राष्ट्रिय सभागृहमा अटाइनअटाई कांग्रेसी नेता कार्यकर्ताकासँग गगनले संवाद गरे।

बिहीबार दिउँसो १:३० बजेदेखि ३ बजेसम्म सभापति थापाले आसन्न निर्वाचनमा पार्टीको एजेन्डालाई सप्रसंग व्याख्या गरे। उनको अभिव्यक्तिमा चुनावी एजेन्डा, त्यसको महत्त्व, कार्यान्वयनका आधार तथा मोडालिटीबारे विस्तृतमा व्याख्या थियो। सभागृहको हलमा अटाइनअटाइ उपस्थिति सहभागीका बीच उनले मुलुकको आर्थिक, सामाजिक, कुटनीतिक र राजनीतिक मुहार फेर्ने रणनीति सुनाएनन् मात्र, त्यसमाथि उपस्थितहरूबाट प्रश्न पनि लिए।

गगनले एकपटकमा तीनवटा प्रश्न फ्लोरबाट लिए र त्यसको जवाफ दिए। यो क्रम साँझ ५ बजेसम्म चल्यो। कुनै पनि चुनावी एजेन्डामा यसखाले बहस पहिलोपटक देखिएको हो।

हलभित्र मानिसहरूको उपस्थिति ‘ओभरफ्लो’ हुने आकलन अनुसार प्रदर्शनीमार्गमा रहेको सभागृह परिसरभित्र दुईवटा ठूला डिस्प्लेमार्फत् गगनको चुनावी सम्बोधन र दोहोरो संवाद प्रसारण गरिएको थियो। गेट अगाडिको डिस्प्लेमा गगन थापा र कांग्रेसको प्रतिज्ञापत्र दर्शाउने दृश्य समावेश थियो भने नेपाल पुलिस क्लबतिरको चौरमा भित्र आयोजित कार्यक्रमको भिडियो डिस्प्ले गरिएको थियो।

बुधबार नेपाली कांग्रेसले जनकपुरबाट चुनावी अभियान सुरु गर्दै भिजन-टेन सार्वजनिक गरेको थियो। कांग्रेसको घोषणापत्र त्यहीँबाट सार्वजनिक हुने अपेक्षा विपरीत बिहीबार राजधानीबाट प्रतिज्ञापत्र सार्वजनिक भएको हो। विशेष महाधिवेशनबाट सभापति चयन भएपछि ‘कांग्रेस २.०’ नाराका साथ चुनावी अभियानमा होमिएको नेपाली कांग्रेसले २ सय पेज लामो घोषणापत्र जारी गरेको छ। नेपालका कुनै पनि निर्वाचनमा कुनै पनि दलले सार्वजनिक गरेको यो सम्भवतः सबैभन्दा लामो घोषणापत्र हो।

गगन थापाले आफ्नो एजेन्डामा सबै राजनीतिक दल, स्थानीय र प्रदेश तथा निजी क्षेत्रसँगको सहकार्यमा मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए। उनले कुनै एक व्यक्तिले मुलुकको मुहार फेर्न नसक्ने तर्क गर्दै पटकपटक ‘चटक’को विश्वास नगर्न आग्रह गरेका थिए। सुरुवाती सम्बोधन लामो हुँदा गगनले घोषणापत्रका कतिपय अंशको शीर्षकमात्र प्रस्तुत गरेका थिए।

पढ्नुस पूर्णपाठ : निजी क्षेत्रलाई आश्वस्त पार्ने कांग्रेसको प्रयास, करका दर कम्तिमा १० वर्षसम्म नफेरिने

डेढ घण्टा लामो सम्बोधन तथा चुनावी प्रतिज्ञा पत्रको ब्रिफिङपछि सुरु भयो अर्को सेसन- ‘हाम्रो प्रतिज्ञा, तपाईको प्रश्न?’ सेसनलाई पत्रकार अनिता बिन्दुले सहजीकरण गरेकी थिइन्। यस सेसनमा गगनले प्रश्नहरू ‘र्‍यान्डमली’ लिएका थिए। प्रश्नोत्तरको श्रृङ्खला ५ बजेसम्मै चल्यो। गगनले फ्लोरका १५ प्रश्न र विदेशमा रहेका नेपालीले भर्चुअल्ली सोधेका प्रश्नको जवाफ दिएका थिए। प्रश्न सोध्नका लागि इमेलमार्फत नेपाली कांग्रेसले आह्वान गरेको थियो।

गत भदौ २२ र २३ गते मुलुकमा जे भयो त्यसैको परिणाम हो फागुन २१ को निर्वाचन। जेन-जीले भ्रष्टाचारविरोधी मुद्दा र सुशासनको मुद्दालाई उठाउँदै आन्दोलन अगाडि बढाएका थिए। त्यही रक्तपातपूर्ण अवस्था सिर्जना भएको थियो। त्यसपछि आगजनीका श्रृङ्खला। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका नेताहरूको घर छानीछानी जलाइएको थियो। कांग्रेस सभापति गगन थापाकै घर पनि जलाइयो। तर, लगत्तै गगनले आफ्नो व्यक्तिगत क्षतिलाई प्राथमिकतामा नराखी नवयुवाले उठाएका मुद्दा सम्बोधन गर्नुपर्ने अभिव्ययक्ति दिए। त्यही विषयले गगन नेतृत्वको कांग्रेसको चुनावी घोषणापत्रमा स्थान पाएको छ।

जेनजी आन्दोलनमा ‘कांग्रेस २.०’को धारणा भन्दै गगनले नवयुवाले उठाएको मागलाई अंगीकार गर्ने बताए। अन्य राजनीतिक दल यस विषयमा गगन जति प्रष्ट र प्रखर भएर आएका छैनन्। बिहीबारको संवादमा यस विषयले पनि महत्त्वका साथ स्थान पायो। त्यसबाहेक, पुँजी बजार सुधारदेखि किसानका भोगिरहेका समस्याको समाधानका सुत्रहरूमाथि प्रश्न र जवाफ चल्यो।

नाजिर अन्सारी

त्यही क्रममा पूर्वाधार, विकास निर्माणमा भएका ढिलासुस्ती र प्रशासनिक झन्झटका विषयमाथि सहभागीले प्रश्न गरे। तिनको गगनले जवाफमात्र दिएनन् उठेका मुद्दालाई किनारा लगाउने उपाय र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने समेत व्याख्या गरे।

पहिलो प्रश्न मोरङका नाजिर अन्सारीले गरेका थिए। उनले जेनजी आन्दोलनमा कार्की आयोगले दिने अनुसन्धान प्रतिवेदनलाई कांग्रेसले अपनत्व लिन्छ कि लिँदैन भन्दै प्रश्न गरेका थिए।

गगनले प्रतिवेदन अहिलेकै सरकारको पालामा आउने अपेक्षा पूरा नभएको सुनाए। ‘गोली किन चल्यो, सिंहदरबार किन जल्यो? गोली कसले चलायो, सिंहदरबार कसले जलायो? त्यसको जवाफ यही आयोगले दिनेमा विश्वस्त छौं,’ गगनले भने, ‘प्रतिवेदन आएपछि हामी त्यसलाई कारबाहीको प्रक्रियामा लैजान्छौं।’

समग्र संवादमा गगनले प्रतिज्ञापत्र माथि उठेका प्रश्नको जवाफ मात्र थिएनन्, त्यसलाई सप्रसंग व्याख्या गर्दै बुझाउन लामै समय खर्चिए। यस संवादमा गगनमाथि व्यक्तिगत प्रश्न कसैले उठाएनन्। कांग्रेसभित्रको विवादको विषयले पनि संवादमा ठाउँ पाएन। उनले निजी क्षेत्रलाई विश्वस्त राख्‍न पर्याप्त आधारहरू भने पेस गरे। ‘प्रो बिजनेस’ ‘प्रो ग्रोथ’ ‘प्रो प्रइभेट’ लाई अर्थतन्त्रको मुहार फेर्ने रणनीतिका रुपमा उनले व्याख्या गरे।

परम्परागत शैलीभन्दा बिल्कुलै फरक हिसाबले चुनावी अभियान थालेका कांग्रेस सभापति थापाको घोषणापत्र र त्यसमाथिको संवादले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको रणनीतिको विपरीत धार समातेको देखियो। वाकपटुता बलियो भएका र आफूलाई तर्कशील नेताका रुपमा प्रस्तुत गर्दै आएका गगनको आजको कार्यक्रमको नेता, कार्यकर्ता र मतदातामा कति प्रभाव छाड्छ फागुन २१ गते ब्यालेट बक्समा खस्ने मतले देखाउने छ।        

The post काग्रेस २.० को चुनावी एजेन्डा: अहिलेसम्मकै लामो घोषणापत्र र प्रश्नोत्तरको रोचक श्रृङ्खला appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category