npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

पालिका ब्यूरो 1 week ago

मनाङ, — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा देशभर चुनावी तयारी तीव्र बन्दै गएको छ । उम्मेदवारहरू प्रचारप्रसारमा जुटिरहेका छन् भने निर्वाचन प्रशासन पनि व्यवस्थापनमा सक्रिय छ। तर, विकट हिमाली जिल्ला मनाङमा भने हिमपातका कारण निर्वाचन तयारी प्रभावित बन्न सक्ने अवस्था देखिएको छ ।

मनाङको माथिल्लो भेगमा लगातार परेको हिमपातले मतदान केन्द्र तथा आसपासका क्षेत्र हिउँले सेताम्मे बनेका छन् । हिउँले ढाकिएका मतदान केन्द्रहरूको अनुगमन र व्यवस्थापनमा कठिनाइ भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“यतिबेला निर्वाचनको तयारी मुख्य हुने समय हो । मतदान केन्द्र अनुगमन र व्यवस्थापन गर्नुपर्ने बेला हिमपातले समस्या सिर्जना गरेको छ,” उनले भने, ।

पौडेलका अनुसार तल्लो क्षेत्रमा चिसो बढिरहेको छ भने माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमाली क्षेत्रका अधिकांश बासिन्दा जाडो छल्न बाहिर गएको र सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकामा तयारी गर्न थप सकस भएको उनको भनाइ छ ।

“एकातिर अधिकांश स्थानीय जाडो छल्न बाहिर गएका छन्, अर्कोतिर नार्पाभूमिमा सडक सञ्जाल नपुगेकाले तयारी झनै चुनौतीपूर्ण भएको छ,” पौडेलले बताए ।

मनाङ जिल्लामा कुल मतदाता संख्या सात हजार रहेको छ। निर्वाचनका लागि एक अस्थायी सहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये माथिल्लो क्षेत्रका धेरै मतदान केन्द्र हिउँले भरिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका हाल हिउँले सेताम्मे बनेका छन् ।

पौडेलका अनुसार माघ अन्तिम सातादेखि चैत पहिलो सातासम्म मनाङ फर्कने स्थानीयवासी हिमपातका कारण अझै फर्कन सकेका छैनन् ।

“स्थानीयहरू अब छिट्टै फर्कने अपेक्षा गरिएको छ, तर हिमपातले यात्रा सहज बनाउन सडक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” उनले भने, ।

चार वटा स्थानीय तह रहेको मनाङमा हिमपात हुने समय भएकाले जोखिमयुक्त अवस्था देखिएको छ। तीन पालिका सडक सञ्जालको पहुँचमा भए पनि नार्पाभूमि गाउँपालिकामा हालसम्म सडक पुगेको छैन। यसले निर्वाचन कर्मचारी, मतपेटिका तथा आवश्यक सामग्री ढुवानीमा समस्या हुने देखिएको छ ।

निर्वाचन कार्यालयका अनुसार नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी छ, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेका छन् । नार्पाभूमिका पाँच र मनाङ ङिस्याङका नौ मतदान केन्द्र पूर्ण रूपमा हिउँले ढाकिएका छन् ।

मनाङमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। प्रतिनिधिसभा सदस्य पदका लागि छ वटा दलको मनोनयन दर्ता भए पनि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेपछि अब नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मङ्गोल नेशनल अर्गनाइजेशनबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

हिमपातका कारण चुनौतीपूर्ण बनेको मनाङको निर्वाचन तयारीलाई सहज बनाउन स्थानीय प्रशासनले आवश्यक व्यवस्थापनमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category