कांग्रेस आधिकारिकता गगनलाई, सर्वोच्चले खारेज गर्यो देउवा पक्षको रिट
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतले चार महिनामा टुंगो लगाएको छ। सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई मान्यता हुने आदेश गरेको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको रिट खारेज गरेको हो।
विशेष महाधिवेशनको निर्णय अनुसार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्ने माघ २ गते निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत पुगेको थियो।
कांग्रेस विवादमा के भएको थियो?
पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना भएको थियो। विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर असोज २९ गते तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। पूर्वसंस्थापनले विशेष महाधिवेशन रोक्न अनेकन जुक्त अपनाउँदा पनि मनाउन सकेन।
त्यतिबेला निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीले पराजय भोग्नुपर्ने अवस्था आउने पूर्वसंस्थापनको मत थियो। गगन थापा पक्ष भने नयाँ नेतृत्व लिएर जान सकेमात्र पार्टीलाई जनताले पत्याउने पक्षमा उभियो। र विशेष महाधिवेश आयोजना भयो। उक्त अधिवेशनले माघ १ गते गगन थापालाई सभापतिमा चयन गर्यो।
२०८२ माघ २ मा निर्वाचन आयोगले गगन नेतृत्वलाई कांग्रेस पार्टीको आधिकारिकता दिने निर्णय गर्यो। आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष माघ ४ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेको थियो।
सर्वोच्चले माघ ६ गते कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखेको थियो। त्यसपछि चैत १ गते पेशी तोकिए पनि उक्त दिन हेर्न नभ्याइने सूचीमा पर्यो। चैत २७ गते विपक्षीलाई पनि पेशीको सुचना दिएसँगै बिहबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा यो मुद्दाको पेशी चढेको थियो।
गगन नेतृत्वले असोज १६ बाट १५औं महाधिवेशन घोषणा गरेपछि देउवा पक्षले सभापति गगन पक्षले महाधिवेशनको तयारी गर्न थालेको भन्दै त्यसलाई रोक्न चैत २६ गते पूरक रिट दायर गरेको थियो।
The post कांग्रेस आधिकारिकता गगनलाई, सर्वोच्चले खारेज गर्यो देउवा पक्षको रिट appeared first on BIZMANDU.