बिदा भइन् आशा भोसले
काठमाडौँ। भारतीय संगीत जगतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको हो । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो । सन् १९३३ मा महाराष्ट्रको प्रख्यात मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षकै उमेरबाट गायन यात्रा सुरु गरेकी थिइन् ।
सन् १९४३ मा पहिलो चलचित्र गीत रेकर्ड गराएकी उनले झण्डै आठ दशक लामो करियरमा हजारौँ कालजयी गीतहरू पस्किएकी छन् । आफ्नी दिदी स्वर्गीय लता मङ्गेशकरसँगै उनले भारतीय पार्श्व गायनमा दशकौँसम्म एकछत्र राज गरिन् । उनले ठूलो संख्यामा नेपाली गीतहरूमा समेत स्वर दिएकी छन् ।
सुरुवाती समयमा क्याबरेट र डान्सिङ नम्बरका लागि रुचाइएकी आशाले पछि उमराव जान जस्ता चलचित्रका गजलमार्फत आफ्नो गायनको दायरा फराकिलो बनाएकी थिइन् । उनले सात पटक फिल्मफेयर र दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् । संगीतमा अतुलनीय योगदान पुर्याएबापत उनलाई दादासाहब फाल्के र पद्म विभूषणबाट समेत सम्मानित गरिएको थियो ।
आशाको व्यक्तिगत जीवन निकै संघर्षपूर्ण रह्यो । १६ वर्षको उमेरमा गणपतराव भोसलेसँग विवाह गरेकी उनी पारिवारिक दुर्व्यवहारका कारण सन् १९६० मा तीन सन्तानसहित अलग भएकी थिइन् । पछि सन् १९८० मा उनले प्रसिद्ध संगीतकार आरडी बर्मनसँग विवाह गरिन्, जसको सन् १९९४ मा निधन भएको थियो । भोसलेको अन्तिम संस्कार भोलि सोमबार गरिने परिवारले जनाएको छ ।