PalikaNews
घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी
तनहुँ – हिलाको रिखा गाउँका अधिकांश महिला पहिले घरधन्दा र खेतीपातीमै सीमित थिए। तर पछिल्लो समय होमस्टे (घरबास) सञ्चालनमा आएपछि गाउँमा आयआर्जनको नयाँ माध्यम खुलेको छ र यहाँका महिला क्रमशः आत्मनिर्भर बन्दै गएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि सञ्चालनमा आएको हो । सुरुआतमा गाउँका २४ घरधुरीमध्ये ११ परिवारको सहभागितामा सुरु गरिएको घरबास अहिले विस्तार हुँदै गएको छ ।
घरबासकी अध्यक्ष सावित्री गुरुङका अनुसार सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको छ, जहाँ करिब ५० जना पाहुना सहजै बस्न मिल्ने व्यवस्था गरिएको छ । गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गर्दै उहाँले युवालाई गाउँमै रोक्ने उद्देश्यले घरबास सञ्चालन गरिएको बताए ।
घरबास सञ्चालक सोममाया गुरुङले पहिले घरधन्दा र खेतीपातीमै समय बित्ने गरेको भए पनि होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिँदै सानो भए पनि आम्दानी गर्न थालेको बताए । आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास बढेको उनको अनुभव छ ।
त्यस्तै, चिनिमाया गुरुङले घरबास सञ्चालनपछि आम्दानीको स्रोत स्थापित हुँदै गएको र गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको बताए । कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको र पाहुनासँग घुलमिल हुँदा स्थानीय संस्कृति, कला र परम्परा चिनाउन पाउँदा खुसी लाग्ने उनले सुनाए ।
घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना, बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति ८०० रुपैयाँको एकमुष्ट प्याकेज उपलब्ध गराइन्छ । यहाँ विशेषगरी स्थानीय उत्पादनबाट बनेका ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह परिकारका रूपमा पस्किने गरिन्छ । साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ ।
पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा रहेको छ । पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमै पुग्न सकिन्छ। डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी पनि छोटो सवारीयात्रामा कोरिखा पुग्न सकिनेछ ।