विद्युत प्राधिकरणको बोर्ड बैठक सौहार्दपूर्ण हुन सकेन, हितेन्द्रदेवसँग किन फायर भए कुलमान?
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आइतबार राति बसेको बैठक सौहार्दपूर्ण हुन सकेन। राति ६ बजे बोलाइएको बैठक सवा ७ बजे सुरु भयो।
सर्वोच्च अदालतको परमादेशमा हितेन्द्रदेव शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पुनर्बहाली गरेपछि बसेको सञ्चालक समितिको पहिलो बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङ आक्रामकरुपमा प्रस्तुत भए।
भारतसँग बिजुली खरिदको विषयलाई लिएर आफ्नो बद्नाम गराउने प्रयास गरेको भन्दै हितेन्द्रदेवमाथि कुलमान खनिए।
भारतबाट नआउने लगभग निश्चित भइसकेको बिजुली आफूले ल्याउने वातावरण बनाएकामा महँगोमा किनेको भनेर आफ्नो बदनाम गराउन खोजेको भन्दै कुलमान कड्किएका हुन्।
‘हामीलाई भारतको बिजुली जनवरीबाट चाहिन्छ। तर अहिलेसम्म बिजुली किन्ने हाम्रो प्रस्ताव भारतमा स्वीकृत हुन सकेको छैन। भारतमा स्वीकृत गराउन नै २ महिना लाग्छ। अहिले नयाँ प्रस्ताव मागेर जनवरीबाट बिजुली ल्याउन सक्नुहुन्छ?,’ कुलमानले सोधे, ‘भारतबाट नआउने निश्चित भइसकेको बिजुली ल्याउनका लागि मैले पहल गर्दा महँगोमा किन्न लागेको भनेर मेरो बद्नाम गराउन खोज्ने?’
उनले आफूलाई बदनाम गर्नकै लागि व्यक्तिगत इमेलबाट रेट मागेको आरोप लगाउँदै त्यो रेट संचालक समितिमा राख्नुअघि संचारमाध्यममा दिएकोमा गम्भीर आपत्ति जनाए। स्रोतका अनुसार एक जना व्यापारीले व्यक्तिगत तवरबाट इमेल गरेको र त्यही रेटलाई संचारमाध्यममा उपलब्ध गराइएको सूचनाले पनि कुलमान थप आक्रोशित बनेका थिए।
‘भारतीय सरकारी निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)का एक कर्मचारीसँग नजिक रहेका व्यापारीले इमेल गरेका रहेछन्। त्यही इमेलमा आएको रेट सार्वजनिक भयो,’ प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘त्यो रेट संचालक समिति अगाडि सार्वजनिक भएपछि केही संचालकले समेत गम्भीर असहमति जनाएका थिए।’
विवाद के हो?
प्राधिकरणले भारतको उर्जा विनिमय बजार (आइएक्स)बाट डे अहेड र रियल टाइम बजार तथा विद्युत आदान प्रदान संयन्त्रमार्फत विद्युत आयात गर्दै आएको छ।
द्विपक्षीय सम्झौतामार्फत विद्युत खरिदका लागि भारतीय सरकारी संस्थाहरुको समेत लगानी रहेको पीटीसी इन्डिया र भारतीय सरकारी निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग गत साउन १३ गते प्रस्ताव माग गरिएको थियो।
त्यतिबेला हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक र दीपक खड्का ऊर्जामन्त्री थिए।
पीटीसीबाट प्रसारण तथा अन्य शुल्क र चुहावटसहित साउन २३ गते प्रति युनिट ६.७४ भारुमा विद्युत दिने प्रस्ताव आयो। एनभीभीएनले प्रति युनिट ७.७० भारुमा विद्युत बिक्री गर्ने प्रस्ताव गर्यो।
प्राधिकरणको तत्कालीन संचालक समिति र व्यवस्थापनले समयमा निर्णय नगरेका कारण पीटीसीको प्रस्ताव कार्यान्वयनमा जान सकेन। भदौ १३ भित्र सम्झौता गर्नुपर्ने पीटीसीको प्रस्ताव प्राधिकरणको अनिर्णयका कारण स्वतः रद्द भएको थियो।
हिउँदको माग आन्तरिक उत्पादनले नधान्ने भएका कारण प्राधिकरणले फेरि प्रस्ताव माग्यो। त्यतिखेर पनि हितेन्द्रदेव नै कार्यकारी निर्देशक थिए। पीटीसीबाट प्रति युनिट ६.९५ र एनभीभीएनबाट प्रति युनिट ७.६७ भारुको संशोधित प्रस्ताव आयो।
त्यतिखेर कुलमान ऊर्जामन्त्री थिए। उनले हितेन्द्रदेवलाई हटाएर असोज ५ गते मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए।
सिलवालले जिम्मेवारी सम्हालेपछि बसेको प्राधिकरणको सञ्चालक समितिको पहिलो बैठकले एनभीभीएनको तुलनामा प्रति युनिट ०.७२ भारु कम भएका कारण पीटीसीसँग १८० मेगावाट बिजुली किन्ने निर्णय गरेको थियो। भारतमा स्वीकृतिको चरणमै रहेका कारण त्यो निर्णय अझै कार्यान्वयन हुन सकेको छैन।
निर्णय के-के?
प्राधिकरणले २० अर्बको ऋणपत्र निकाल्ने निश्चित भएको छ। सञ्चालक समिति बैठकले २० अर्बको ऋणपत्र निकाल्न स्वीकृत दिएको छ।
प्राधिकरणले १०६३ मेगावाटको अप्पर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, २१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजना, तामाकोशी-५ र १८ मेगावाटको मोदी जलविद्युत आयोजनामा लगानी गर्नका लागि ऋणपत्र जारी गर्ने भएको हो।
प्राधिकरणले १० वर्षका लागि ऋणपत्र निष्कासन गर्नेछ। ऋणपत्र जारी गरेर उठाउने रकम ब्याजसहित भुक्तानी गर्ने आधार प्राधिकरणले बनाइसकेको छ। ‘२० अर्बको इनर्जी बण्ड जारी गर्ने प्रस्ताव बोर्डबाट एप्रुभ भएको छ। यस्तै बंगलादेशलाई थप २० मेगावाट बिजुली निर्यातमा गर्न पनि बोर्डले अनुमति दिएको छ,’ प्राधिकरणका एक सञ्चालक सञ्चालकले भने।
केही समयअघि दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत लाने सहमति भएको हो।
यस्तै टौडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको भेरियसन गर्न समिति गठन गर्न सञ्चालक समितिले व्यवस्थापनलाई स्वीकृति दिएको छ।
The post विद्युत प्राधिकरणको बोर्ड बैठक सौहार्दपूर्ण हुन सकेन, हितेन्द्रदेवसँग किन फायर भए कुलमान? appeared first on BIZMANDU.