PalikaNews
शेर्पा समुदायद्वारा ग्याल्पो ल्होसार पर्व मनाइँदै
काठमाडौँ, – शेर्पा समुदायले आज विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ राख्ने यो पर्व शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ।
यस अवसरमा शेर्पा समुदायले गाउँघर, टोल तथा पानीका मुहानको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ। पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने पर्वका रूपमा ग्याल्पो ल्होसारलाई लिइन्छ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्पराका अनुयायीले चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ यो पर्व मनाउँछन्। स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले पर्वलाई थप रौनकपूर्ण बनाउने गर्दछ।
नयाँ वर्षका रूपमा मनाइने ग्याल्पो ल्होसारले समाजमा नयाँ आशा, उमङ्ग र उल्लास भर्दै आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ। यसले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने मान्यता छ।
पर्वका अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, खाप्से, डेशिल र गुथुक जस्ता परिकारको स्वाद लिने तथा परिवारसँग उल्लासपूर्वक समय बिताउने परम्परा नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण पाटो मानिन्छ।