npl.977 Nepal News Stream

Taksar News logo Taksar News

ओशो तपोवनमा करिब ६० देशका साधकहरू ध्यानका लागि आउने गर्छन्ः आनन्द अरुण

टक्सार न्युज 13 hours ago

काठमाडौँ । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा हाल पनि करिब ६० देशका साधकहरू ध्यानका लागि आउने गरेको बताएका छन्।

विश्व ध्यान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित ध्यान तथा योग कार्यक्रममा बोल्दै उनले योग र ध्यानको आवश्यकता नेपालभन्दा विकसित देशहरूमा अझ बढी रहेको उल्लेख गरेका हुन्।

स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेद नेपालको मौलिक पहिचानसँग जोडिएका विषय भए पनि राज्यको पर्याप्त ध्यान नपुगेको गुनासो गरे।

उनले योग, ध्यान र आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयुर्वेदको प्रवर्द्धन तथा ध्यानका साधकहरूका लागि अभिभावक मन्त्रालय बनाउन सरकारसँग माग गरे।

धार्मिक तथा आध्यात्मिक संस्थाबाट संकलित रकममा कर लगाउने नीति पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ। मुठी दानमा १५ प्रतिशत कर लगाइनु दुःखद भएको उल्लेख गर्दै यसले ध्यान, योग र आध्यात्मिक गतिविधिमा नकारात्मक असर पार्ने चेतावनी दिए। योग र ध्यानजस्ता अभ्यासले अहिलेसम्म कुनै पनि किसिमको सरकारी सहयोग नपाएको भन्दै यसप्रति सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ। हरेक वर्ष डिसेम्बर २१ मा मनाइने विश्व ध्यान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा ध्यान र योग कार्यक्रम आयोजना गरिएको थियो, जसमा विभिन्न समूह र साधकहरूको सहभागिता रहेको थियो।

Read more news from Taksar News

Explore by Source or Category