कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
पोखरा । जेसीआई पोखरा (पोखरा जेसीज) ले ‘ककस प्रोग्राम–२०२६’ आयोजना गर्दैछ । भोलि बिहान ११ बजे पोखरा सभागृहमा आयोजना हुने ककस कार्यक्रमको एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष र रेकर्डेड प्रसारण गर्ने आयोजकले जनाएको छ ।
पोखरा जेसीजका अध्यक्ष सुमन पहारीका अनुसार कार्यक्रममा कास्की २ का उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद हुनेछ । कास्की २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका रश्मी आचार्य, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ वक्ताका रुपमा हुनेछन् ।
यस्तै, कास्की २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना पनि संवादमा सहभागी हुने जेसिज पोखराका अध्यक्ष पहारीले जानकारी दिए । संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् ।
ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा र एबीसी न्यूज प्रालिबिच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच मंगलबार पोखरामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा जेसीज पोखराका तर्फबाट अध्यक्ष सुमन पहारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा जेसिजको तर्फबाट कार्यक्रम संयोजक तिलकप्रसाद लामिछाने, एबिसी टिभी पोखराका संवाददाताद्वय गिता रानामगर र धनबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न र धेरै भन्दा धेरै दर्शकसम्म पु¥याउन यो मिडिया सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।