npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्रिमियर स्कुलमा तेस्रो राष्ट्रिय कलेज मेला सम्पन्न, स्वदेशमै उच्च शिक्षाको अवसर विस्तारमा जोड

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलद्वारा आयोजित तेस्रो ‘राष्ट्रिय कलेज मेला’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशिने बढ्दो प्रवृत्तिलाई ध्यानमा राख्दै स्वदेशमै गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले स्कुलकै प्रांगणमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालयका कक्षा ११–१२ संयोजक अच्युत लम्सालका अनुसार विद्यार्थी तथा अभिभावकलाई नेपालभित्रै उपलब्ध शैक्षिक अवसरबारे स्पष्ट जानकारी गराई स्वदेशमै अध्ययन गर्ने वातावरण सिर्जना गर्नु नै मेलाको मुख्य लक्ष्य हो ।

मेलामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त कलेजहरूका साथै नेपालमै अध्ययन कार्यक्रम सञ्चालन गरिरहेका विदेशी विश्वविद्यालयसँग आबद्ध कलेजहरूको पनि सहभागिता रहेको थियो । सहभागी कलेजहरूले व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, स्वास्थ्य शिक्षा, सूचना प्रविधि लगायत विभिन्न विषयमा उपलब्ध अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, आवश्यक योग्यता तथा छात्रवृत्ति सुविधाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा प्रिमियरसँगै अन्य विद्यालयका विद्यार्थीहरूले पनि सहभागिता जनाउँदै स्नातक तहमा अध्ययनका अवसर, विषय छनोट, अध्ययन अवधि, शुल्क संरचना र भविष्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए । कलेज प्रतिनिधिसँग सिधा संवाद गर्न पाउँदा आफूले रोजेको विषय र भविष्यको योजना स्पष्ट बनाउन सहज भएको विद्यार्थीहरूले बताएका छन्।

मेलाको मुख्य आकर्षणका रूपमा विचार गोष्ठी सञ्चालन गरिएको थियो । गोष्ठीमा किस्ट मेडिकल कलेजका प्राध्यापक डा. रोबिन जोशी, हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक किशोर गौतम तथा पिपुल फर्स्टकी संस्थापक इच्छा मल्लले आफ्ना धारणा राखेका थिए ।

किस्टका प्राध्यापक डा. रोबिन जोशीले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने सम्भावनाबारे प्रकाश पार्दै शिक्षा नीतिबारे विद्यार्थीहरू प्रारम्भिक चरणदेखि नै सचेत हुनुपर्ने बताए । उनले स्वास्थ्य शिक्षामा नेपालले हासिल गरेको प्रगति उल्लेख गर्दै आत्मविश्वासका साथ स्वदेशमै अध्ययन गर्न आग्रह गरे।

यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक किशोर गौतमले विद्यार्थीहरूले आफ्नो लक्ष्य स्पष्ट बनाएर निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए । उनले प्राविधिक तथा इन्जिनियरिङ शिक्षामा नेपालमै पर्याप्त पूर्वाधार र दक्ष जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै सही मार्गदर्शन पाए सफल भविष्य निर्माण गर्न सकिने बताए ।

पिपुल फर्स्टकी संस्थापक इच्छा मल्लले विदेशी पाठ्यक्रमलाई नेपालमै प्रभावकारी रूपमा सञ्चालन गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु दीर्घकालीन लक्ष्य रहेको बताइन्। स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा विस्तार हुँदा आर्थिक भार कम हुनुका साथै देशको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ थियो ।

गोष्ठीमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो। स्वदेशमै गुणस्तरीय उच्च शिक्षाको वातावरण निर्माण गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने लक्ष्यसहित आगामी वर्षहरूमा पनि राष्ट्रिय कलेज मेलालाई निरन्तरता दिइने जनाइएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category