कच्चा भटमास तेल सात महिनामा ७१ अर्बको भित्रियो, धेरै आयात हुने वस्तुको सूचीमा कुन-कुन?
काठमाडौं। चालु आर्थिक वर्ष ७ महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा कच्चा भटमास तेल सबैभन्दा धेरै भित्रिएको छ।
भन्सार विभागका अनुसार कच्चा भटमास तेल ७० अर्ब ९९ करोड ५६ लाख रुपैयाँको ४४ करोड ८३ लाख ८७ हजार लिटर भित्रिएको छ। यसबाट ३ अर्ब १४ करोड १९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको दोस्रो नम्बरमा डिजल छ। साउनदेखि माघसम्म ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँको ७ लाख ६६ हजार ३९६ किलोलिटर डिजल आयात भएको छ।
तेस्रो स्थानमा पेट्रोल छ। ७ महिनामा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँको ४ लाख ४२ हजार ७८७ किलोलिटर पेट्रोल भित्रिएको छ।
एलपी ग्यास चौथो स्थानमा छ। विभागको तथ्यांक अनुसार ७ महिनामा ३१ अर्ब ८५ करोड रुपैयाँको ३२ करोड १० लाख ८९ हजार केजी ग्यास आयात भएको छ।
चालु आर्थिक वर्ष ७ महिनामा २६ अर्ब ६८ करोड ७३ लाख रुपैयाँको १४ लाख १४ हजार ९३८ थान स्मार्ट फोन र २१ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भएको छ।
The post कच्चा भटमास तेल सात महिनामा ७१ अर्बको भित्रियो, धेरै आयात हुने वस्तुको सूचीमा कुन-कुन? appeared first on BIZMANDU.