PalikaNews
भोजपुरमा १३ पक्की र १७ झोलुङ्गे पुल निर्माण
भोजपुर, – सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न स्थानमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुर का प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाका विभिन्न खोलामा करोडौँ रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
पिखुवा खोलामा रु ७ करोड ५० लाख, आरीखोलामा रु ३ करोड, वेहेरे खोलामा रु ३ करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु २ करोड ५० लाख, राउते खोलामा रु ३ करोड ५० लाख, कावाखोलामा रु ७ करोड ५० लाख र श्यामखोलामा रु ३ करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ ।
यसैगरी, बङ्खुवा खोलामा रु २ करोड २५ लाख, गङ्खुवा खोलामा रु ४ करोड ५० लाख, सिक्तेल खोलामा रु ४ करोड, एखुवा खोलामा रु ६ करोड ६० लाख र चिरखुवा खोलामा रु ५ करोड ६३ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
तामुटारमा रु ६ करोड ३५ लाख लागतमा निर्माणाधीन अर्को पुल अन्तिम चरणमा पुगेको छ । पुल निर्माणसँगै जिल्लाका दुर्गम बस्तीमा यातायात पहुँच विस्तार भई स्थानीयको आवतजावत, कृषि उत्पादन ढुवानी र दैनिक जनजीवन सहज बनेको जनाइएको छ ।