बालेन्द्र शाह राजनैतिक व्यक्तित्व कि सुपरस्टार नायक ?
काठमाडाैं । बालेन्द्र शाह (बालेन) यतिबेला चर्चाको शिखरमा छन् । किनकी उनी झापा–५ मा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्दैछन् । त्यसैले झापा–५ यतिवेला राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय रुपमा समेत चर्चामा छ । तर, बालेनको क्रेज, उपस्थिती र माग झापामा मात्र सिमित छैन, देशव्यापी छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका ‘पोष्टर ब्वाई’ हुन् ।
उनको यो लोकप्रियता परम्परागत राजनीतिक शैलीभन्दा पृथक छ । उनी पहिलो संविधानसभा ताकाका प्रचण्ड जस्तो करेस्मेटिक नेता होइनन् । न त उनी २०७२ सालपछिका राष्ट्रवादी छवी नेता केपी शर्मा ओली जस्ता नै हुन् । न त बाबुराम भट्टराई, प्रदीप गिरी र स्वर्णिम वाग्ले जस्तो बौद्धिक नेता हुन् । उनको शैली र व्यक्तित्व भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विश्व नेताको भन्दा पनि पृथक छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अगाडि बढाएको बालेनको स्वभाव र पार्टी सभापति रवि लामिछानेको स्वभाव ठ्याक्कै विपरीत छ । उनले नबोलेर जनताको मत जितिरहेका छन्, लामिछानेले बोलेर मतदाता आकर्षित गरिरहेका छन् । बरु उनको शैली र चरित्र बलिउडका नायकहरुसँग चाहि केही हदसम्म मिल्छ ।
उसो त कतिपयले उनलाई भारतीय फिल्मका सुपरस्टार रजनीकान्तसँग समेत तुलना गर्ने गरेका छन् जो एक दिनको मुख्यमन्त्री बनेर सिस्टम सुधार्ने, भ्रष्टाचारसँग सिधै भिड्ने पात्र थिए । बालेनको काम गरेर देखाउने छवी उनीसँग मिल्दोजुल्दो छ । निर्वाचनको परिणाम के हुन्छ यसै भन्न सकिँदैन तर उनी यतिवेला सबैभन्दा पपुलर नेता हुन् ।
उनी प्रायः मौन बस्छन् र उनको मौनता नै एक शक्तिशाली सन्देश र औजार बनेको छ । सीमित अभिव्यक्ति, स्पष्ट अडान र कार्यमुखी छविले उनलाई ‘बोल्ने नेता’भन्दा ‘अर्थ राख्ने नेता’को रूपमा स्थापित गरेको छ । त्यसैले उनी सामाजिक संजालमा लोकप्रिय छन्, अनि उनलाई भेट्न र देख्न सडक किनारमा हजारौं मानिस उपस्थित हुन्छन् । यो क्रेज व्यक्तिपूजाभन्दा बढी वैकल्पिक राजनीतिप्रतिको जनआकांक्षाको अभिव्यक्तिको रुपमा बुझ्नुपर्ने हुन्छ । बालेनको क्रेज प्रचारको परिणाम होइन, प्रतीकात्मक उपस्थितिको परिणाम हो जहाँ मौनता पनि राजनीतिक भाषाजस्तै प्रभावशाली बनिरहेको छ ।
बालेन यतिबेला देश दौडाहामा छन् । उनले अन्य राजनीतिक दलका नेताको जस्तो आमसभा र भाषण गरिरहेका छैनन् । तर, उनी जहाँ पुग्छन, त्यहाँ सभा होइन—दृश्य बनेको छ–चाहे झापा होस् वा जुम्लामा, वा सुर्खेत वा कैलालीमा । उनी पुग्न नपाउँदै स्वतः भीड जम्मा हुन्छ, मोवाइलका क्यामराहरु सक्रिय हुन्छन् । मानिसहरु उनको एक झलक पाउन झुमिन्छन् ।
उनको कार्यक्रममा न धेरै ब्यानर हुन्छन्, न कुनै औपचारिक भाषणको कार्यक्रम, नत उदेकलाग्दो भाषण र आश्वासन् । तर, उनको उपस्थितीले चुनावी वातावरणमा नै परिवर्तन ल्याइरहेको छ, यस अगाडीका चुनावभन्दा पृथक चुनावी अभियान निर्माण गरेको छ ।
उनले पुराना राजनीतिक दलका नेताको निद हराम गरेका छन् । त्यसैले नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई सामाजिक संजालमार्फत स्टन्ट गरेको आरोप लगाएका छन् त ओलीले उनलाई विदेशीले परिचालन गरेको र सिंहदरवार जलाएको आरोप लगाइरहेका छन् । अर्थात्, बालेन यतिबेला सबैका साझा चुनौतीजस्तो देखिएको छ ।
उनीसँग फोटो खिच्न खोज्दा वा उनलाई स्वागत गर्दा मान्छेहरु घाइते नै भएका छन् । यो भिड प्रशंसक वा व्यक्ति पूजा गर्नेहरुको मात्र होइन, पुराना राजनीतिक शासकहरुबाट वाक्कदिक्क भएकाहरुको लागि उनी आशा बोकेका नागरिक हुन् । आखिर बालेनको क्रेजको अर्थ के हो ?
● शैक्षिक योग्यता
सन् १९९० मा जन्मिएका बालेनको पृष्ठभूमि राजनीति होइन । उनी पेशाले सिभिल इन्जिनियर हुन् । उनले हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेज काठमाडौंबाट स्नातक गरेका हुन् भने उनले भारतबाट स्टक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०७२ भूकम्पपछि उनले भूकम्प प्रभावित जिल्लाहरुमा गएर क्षतिको मुल्याङकन गरेका थिए । यसले उनले नगरपालिकाहरुको बारेमा बुझ्ने र अध्ययन गर्ने अवसर प्रदान गर्यो । त्यसपछि बिस्तारै उनको राजनीतिप्रति आकर्षण बढ्दै गयो ।
● पुराना नेताजस्ता लाग्दैनन्
बालेन अरू नेताजस्तै लामो भाषण, खोक्रो वाचा र पार्टीको झन्डा बोकेर आएका होइनन् । उनले स्वतन्त्र उम्मेदवारको रुपमा देशको राजधानी काठमाडौं महानगरपालिकाको मेयर जिते । उनको स्वतन्त्र पहिचान पनि उनलाई धेरै रुचाउनुको एक प्रमुख कारण हो । त्यसैले धेरै युवाले उनलाई फरक नेताको रुपमा हेर्छन् । पुरानै अनुहार देखेर दिक्क भएका युवालाई उनी नयाँ विकल्पजस्तो लाग्यो । हुन पनि सत्तामा र शक्तिमा २०४७ सालदेखि अहिलेसम्म उही अनुहारको वोलवाला छ, जसबाट जनताहरु वाक्कदिक्क भएका छन् । उनीहरु त्यस्तो कोही नयाँ पात्र खोजिरहेका छन् र धेरैले बालेनलाई नयाँ नेताको रुपमा हेर्छन् । पेशाले स्ट्रक्चरल इन्जिनियर भएकाले उनले शहरका समस्याहरूलाई वैज्ञानिक र प्राविधिक हिसाबले हेर्ने गर्छन्। उनी डाटा ड्रिभन निर्णय लिन रुचाउँछन्, जुन परम्परागत नेताहरूमा कमै पाइन्छ।
● बोलेभन्दा काम धेरै गरे
काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनले कति काम गर्न सके, सकेनन् त्यो त समिक्षाको विषय होला । तर, उनले काठमाडौंमा केही देखिने काम गरे जसले गर्दा उनको प्रशंसा बढ्यो । हेर्नुहोस् न उनी मेयर हुनुभन्दा पहिला काठमाडौंमा फोहर व्यवस्थापनको ठूलो समस्या थियो । हप्तै दिनसम्म फोहर उठ्न नसकेर मुख छोपेर हिड्नुपर्ने अवस्था थियो । कम्तीमा उनी मेयर हुँदासम्म काठमाडौंमा त्यो समस्या देखिएन । उनले काठमाडौंको फुटपाथ खाली गराए, भलै धेरैको रोजगारी खोसेको आरोप उनलाई लाग्यो । यति मात्र होइन, उनले काठमाडौंका विभिन्न ठाउँमा चिटिक्क परेको मानिस हिँड्ने बाटो बनाएका छन्, अनि धेरै ठाउँमा परम्परागत प्रतिक्षालय बनेका छन् । मानिसहरु ति प्रतिक्षालयमा आराम गरिरहेको देखिन्छन् । यसले पनि उनलाई लोकप्रिय बनायो ।
● डर नमान्ने स्वभाव
ठूला व्यापारी, ठूला नेताबाट दबाब आए पनि पछि नहट्ने उनको शैली युवालाई मन पर्छ । उनले विगत चार वर्ष विशेषत केपी शर्मा ओलीसँग सिंगौरी खेले, चुनौती दिए । उनले सिंहदरबार जलाइदिन्छु भन्ने अभिव्यक्ति दिएपछि शीर्ष नेताको बिचमा उनलाई कार्वाही गर्ने चर्चा समेत चल्यो । तर, सरकारले उनलाई कार्वाही गर्ने कुनै आँट नै गरेन, शीर्ष नेताहरु उनीसँग डराए । धेरै युवाले उनलाई “डर नमान्ने, सिस्टमसँग जुध्न सक्ने” पात्रका रूपमा हेर्छन् ।
● कम बोल्ने, तर अर्थपूर्ण बोल्ने
बालेन परम्परागत मिडियामा धेरै देखिँदैनन्, तर जब बोल्छन्, सिधा कुरा गर्छन् सामाजिक संजालमार्फत । उनी नेपाली मिडियासँग धेरै अन्तरक्रिया र कुराकानी गर्दैनन् । तर, अन्तराष्ट्रिय मिडियासँग भने कुरा गर्न हमेशा तयार हुन्छन् । त्यही भएर संसारमा प्रतिष्ठित संचार माध्यमले उनको प्रशंसा गरेर अन्तवार्ता र फिचर प्रकाशन गर्दछन् ।
● युवाका भरोसा
नेपालमा प्रायः सबै ७० वर्ष कटेका नेताहरुको शासन, बोली र व्यवहार देखेर वाक्कदिक्क भएका नवयुवाहरु आफ्नो नेता खोजिरहेका थिए । बालेन काठमाडौं महानगरपालिकको मेयरको रुपमा स्थापित भएपछि उनलाई युवाले आफ्नो नेताको रुपमा लिए । देशमै अवसर नपाएर विदेश जानुपरेको पीडा, प्रणालीप्रतिको आक्रोश निराशा—धेरै युवाले महसुस गरेको भावना बालेनमा देख्छन् । त्यसैले उनलाई युवाले आफूजस्तै सोच्ने नेताको रुपमा लिन्छन् ।
● स्वच्छ छवि
नेपाली राजनीतिमा स्वच्छ छवि भएका नेताहरूको खडेरी परिरहेका बेला बालेन एक आशालाग्दो नाम हुन् । जेल जीवन बिताउनु र काण्डमा मुछिनु नै नेताहरुको परिचय बन्ने पृष्ठभूमीका बीच बालेन यसबाट अलि भिन्न छन् । बालेनले महानगरको बागडोर सम्हालेदेखि नै कानुनी शासनको प्रत्याभूति गराउन र सहरको सुन्दरता फर्काउन चालेका कदमहरूले उनको निष्ठा झल्काउँछन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, प्रणाली सुधारमा केन्द्रित हुनु नै उनको स्वच्छ छविको मुख्य आधार हो। जनताले उनलाई विश्वास गर्नुको एउटै कारण हो— उनको बोली र गराइमा रहेको एकरूपता र सार्वजनिक सम्पत्तिको संरक्षणप्रतिको उनको इमानदार प्रतिबद्धता।
● प्रविधिमैत्री नेतृत्व
वर्तमान समयमा नेतृत्व केवल कुर्सीमा बसेर निर्देशन दिनु मात्र होइन, बरु बदलिँदो प्रविधिलाई आत्मसाथ गर्दै जनताको पहुँचमा पुग्नु पनि हो । बालेन डिजिटल जमानाका यस्ता प्रतिनिधि हुन् जसले सूचना प्रविधिलाई सुशासनको मुख्य औजार बनाएका छन्। उनले परम्परागत सरकारी ढिलासुस्तीलाई चुनौती दिँदै महानगरमा रहेका बेला सेवाहरूलाई डिजिटल बनाउन र पारदर्शिता कायम गर्न सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरे ।
बालेनको डिजिटल सचेतनाले गर्दा नै आज युवाहरू राजनीति र विकासप्रति चासो राख्न थालेका छन्। महानगरका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णयदेखि लिएर, सामाजिक सञ्जालबाटै जनताका प्रश्नको जवाफ दिने शैलीले उनलाई कनेक्टेड लिडर बनाएको थियो । बालेन कोहीसँग मुख बजार्न भन्दा सामाजिक सञ्जाल उपयोगमा अभ्यस्त देखिन्छिन् । यो उनको सामाजिक सञ्जालमा देखिने लाखौं लाइक र फलोअर्सले पनि प्रष्ट पार्छ ।
● कार्यशैलीमा देखिने युवा जोश
दशकौंदेखि एउटै अनुहार र पुरानै कार्यशैलीको दबदबा रहँदै आएको पृष्ठभूमिमा बालेनको उदय युवा जोश र नयाँ आशाको प्रतीक बनेको छ । उनको उपस्थितिले राजनीतिमा युवाहरूको हस्तक्षेपकारी भूमिकाको सुरुवात गरेको छ । बालेनमा भएको त्यो ऊर्जाले काम नगर्ने प्रवृत्ति र पुराना सोचहरूलाई सिधै चुनौती दिएको छ, जसले गर्दा आज आम नागरिकमा अब केही परिवर्तन हुन्छ भन्ने विश्वास पलाएको छ ।
२०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा ठूलो मतान्तरले जित हासिल गर्दा उनले देखाए कि राजनीति अब पुराना पार्टीहरूको एकाधिकारमा सीमित रहन सक्दैन। उनी कुनै पनि राजनीतिक विरासत वा गुटको फेरो नसमाती आफ्नै सामथ्र्य र भिजनको भरमा चुनावी मैदानमा उत्रिए र सफल पनि भए। भलै उनले धेरै काम गर्न सकेनन्, तर जब राजनीतिमा युवा जोश र बौद्धिकताको फ्युजन हुन्छ, तब असम्भव मानिएका कामहरू पनि सम्भव हुन थाल्छन् भन्ने उदाहरण दिन थाले ।
● जनआक्रोशमा संगीत भर्न माहिर
बालेन केवल एक इन्जिनियर वा प्रशासक मात्र होइनन्, उनी जनताको मनमा गुम्सिएर रहेको आक्रोशलाई संगीतको लयमा बदल्न सक्ने एक कुशल सर्जक पनि हुन्। भ्रष्टाचारप्रतिको घृणा र राजनीतिक व्यवस्थाप्रतिको आक्रोशलाई शब्द र बीटमा यति तीव्र रूपमा व्यक्त गर्न माहिर छन् कि ती गीतहरू सुन्दा सडकमा उर्लिएको भीडको आवाज नै गुन्जिन्छ। भ्रष्ट नेताहरूलाई चोर भन्दै, युवाको बेरोजगारी र अन्यायलाई सीधा चुनौती दिँदै उनले संगीतलाई मनोरञ्जन मात्र होइन, परिवर्तनको हतियार बनाएका छन्।
काठमाडौंका मेयर बनेपछि पनि उनको त्यही शैली जारी रह्यो—जनताको पीडा र आक्रोशलाई शब्दमा ढाल्ने, भावनालाई तालमा बाँध्ने र समाजलाई झक्झक्याउने उनको यो कला नै हो । उनको र्यापले चुप लागेर बस्ने होइन, उठेर बोल्ने साहस दिन्छ, र त्यसैले बालेनको संगीत जनआक्रोशको सबैभन्दा शक्तिशाली धुन बनेको छ। उनका र्यापरहरु नै अहिले चुनाव प्रचारका माध्यम बनेका छन् भन्दा फरक पर्दैन ।