npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

गृहमन्त्रीको सम्पत्तिमाथि ‘उच्चस्तरीय छानबिन’ गर्न कांग्रेसको माग

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको पछिल्लो विवाद र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूमाथि ‘स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय’ छानबिनको माग गरेको छ।

कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै मन्त्रीहरूको सम्पत्ति र नैतिकताका विषयमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य छ।”

विशेषगरी गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामा गम्भीर प्रश्न उठाएको कांग्रेसको ठहर छ। गृहमन्त्री पदमै बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका व्यक्त गर्दै कांग्रेसले ‘प्रभावरहित वातावरण’ सुनिश्चित गर्न माग गरेको छ। यसलाई राजनीतिक वृत्तमा गृहमन्त्रीले अनुसन्धान अवधिभर पदबाट हटेर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसको दबाबका रूपमा हेरिएको छ।

“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सरकारलाई चेतावनी दिँदै भनेको छ कि यस विषयमा हुने कुनै पनि ढिलासुस्ती, राजनीतिक प्रभाव वा ढाकछोपले सुशासन र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ । तसर्थ, गृहमन्त्रीमाथि लागेका आरोपहरूको तत्काल उच्चस्तरीय छानबिन प्रारम्भ गर्न कांग्रेसले सरकारसमक्ष जोडदार माग गरेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category