RONB post
‘राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्याको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्। प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्न उनले आग्रह गरेका छन्।
उनले भनेका छन्- ‘सिंगो मुलुक यति बेला अस्वभाविक भूमरीको छटपट्टीमा फसेको छ, देशको अस्तित्व संकटमा परेको हरेक नेपालीले महसुस गरिरहेका छन्, प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र प्रक्रियातर्फ जानु उचित र मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने हुनेछु।’
हाम्रो शत्रु विपन्नता र अस्थिरता भएको भन्दै शाहले एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले प्रश्रय दिइरहेको बताएका छन् ।
‘अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ’, शाहले भनेका छन् ।
The post ‘राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित’ appeared first on RONB post.