क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ।
एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। उनले जनकपुर बोल्ट्सबाट एनपिएलको पहिलो सिजन जितेका थिए। दुबै सिजन च्याम्पियन बन्ने उनी एक्लो खेलाडी हुन्।

सुदूरपश्चिम प्रदेशका शेर भविष्यमा नेपाली क्रिकेटमा राम्रो सम्भावना बोकेका खेलाडी भएकै कारण कलेजसँग आबद्ध गरिएको निर्देशक शाहीले बताए। उनले खेलाडीलाई खेलसँगै आर्थिक रूपमा पनि सक्षम बनाउने उद्देश्यले कलेजले ब्रान्ड एम्बासडर नियुक्त गरेको स्पष्ट पारे।
शेरले एसपिएप्रति आभार व्यक्त गरेका छन्। कलेजले शैक्षिक क्षेत्रमा मात्र नभई खेलाडीहरूलाई पनि साथ र सहयोग गर्दै आएको भन्दै उनले यसले आफूलाई अझ जिम्मेवार भएर खेल क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको बताए।
यसअघि एसपिएले अन्तर्राष्ट्रिय महिला क्रिकेटर कविता कुँवर र क्रिकेटर नारायण जोशीलाई पनि ब्रान्ड एम्बासडर नियुक्त गरिसकेको छ। त्यस्तै, एसपिए कै स्वामित्वमा रहेको ब्रेड बक्स क्याफेले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटर विनोद भण्डारीलाई पनि ब्रान्ड एम्बासडर बनाएको छ।
The post क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त first appeared on हाम्रो खेलकुद.