npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

युवा समाज इटहरी गोल्डकपको फाइनलमा, मछिन्द्र स्तब्ध

Prakash Timalsina 8 hours ago

इटहरी (हाम्रो खेलकुद)- साविक विजेता मछिन्द्र फुटबल क्लब मोरङ १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि दौडबाट बाहिरिएको छ।

युवा समाज मोरङसँग आज पहिलो सेमिफाइनलमा सडन डेथमा पराजित हुँदै मच्छिन्द्र फाइनल पुग्न असफल भएको छ।

निर्धारित समय ३-३ को बराबरीपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा ४-४ गोल बराबरीपछि खेल सडेनडेथमा गएको हो ।

सडेनडेथमा मछिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन् । त्यसपछि निर्णायक प्रहार गर्न आएका पदम भटराईले गोल गरेपछि युवा समाज उपाधि नजिक पुग्यो ।

त्यसअघिको पेनाल्टीमा मछिन्द्रका रोहित चन्द, दिपेश गुरुङ, देवेन्द्र तामाङ र तुसार विश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएयो ।

युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोष्टमा लागेर फर्कियो ।

त्यसअघिको निर्धारित समयको १३ औ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए । सौरब लिम्बुले प्रहार गरेको कर्णर बललाई उनले हेड मार्फत गोल गरे ।

१६ औं मिनेटमा प्रदिपलेनै अर्को गोल गरेपछि मछिन्द्रले २-० को अग्रता बनायो । गोलकिपर प्रमञ्जय गच्छदार अघि बढेको मौकामा उनले प्रहार गरेको बल गोलपोष्टको लाइनमै रहेका विपक्षी डिफेण्डरले क्लियर गर्न नसक्दा मछिन्द्रले अग्रता दोब्बर बनायो ।

खेलको २२ औं मिनेटमा युवा समाजका जन्मजय धामीले गोल फर्काएपछि खेल २-१ को अवस्थामा आयो । पदम भट्टराईले दिएको पासलाई कमजोर डिफेन्सलाइनको फाइदा उठाउदै जन्मजयले बललाई पोष्टको दिशा दिए।

पहिलो हाफको इन्जुरी समयमा युवा समाजका सुजन डंगोलले गोल गरेपछी खेल २-२ को बराबरीको अवस्थामा आयो । सृजनराज गौतमले दिएको लामो पासलाई सुजनले आकर्षक हेड गोल गरे ।

पहिलो हाफ २-२ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको २४ औं मिनेटमा पदम भट्टराईले गोल गरेपछि युवा समाजले ३-२ को अग्रतामा लियो ।

तर अन्तिम चार मिनेट सम्हालिन नसक्दा युवा समाजले जितका लागि पेनाल्टी सुटआउट हुदै सडेनडेथसम्म कुर्नुपर्यो । इन्जुरी समयमा देवेन्द्रले गोल फर्काएपछि खेल ३-३ को बराबरीमा आयो । त्यसपछी खेलको निर्णय पेनाल्टी सुटआउट हुदै सडेनडेथमा पुगेको हो ।

प्लेयर अफ द म्याच पदम भट्टराई घोषित हुदै १० हजार रुपैयाँ प्राप्त गरे। शनिबारको अन्तिम सेमिफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइजबीड खेल हुनेछ ।

राष्टिय जागृती क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र दोस्रो ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । फाइनल खेल बैशाख ७ गते हुनेछ ।

The post युवा समाज इटहरी गोल्डकपको फाइनलमा, मछिन्द्र स्तब्ध first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category