PalikaNews
काठमाडौं महानगर वडा नं. ३० मा पाँच महिनामै साढे सात करोडभन्दा बढी राजस्व संकलन
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले पछिल्लो पाँच महिनामा सात करोड ५६ लाख ९४ हजार ६२७ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा छ करोड ७५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
आज मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न योजना तथा चालु आर्थिक वर्षमा प्राप्त उपलब्धिबारे जानकारी दिँदै राजस्व विवरण सार्वजनिक गरिएको हो । गत आर्थिक वर्ष २०८१÷०८२ मा वडाले कुल १६ करोड ८३ लाख एक हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षमा वडाका लागि ११ करोड २२ लाख रुपैयाँ बजेट निकासा भएकोमा पाँच करोड २३ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ, जुन ४६.६८ प्रतिशत हो । यस वर्ष वडामा २९ वटा योजना समावेश गरिएकामा १८ वटा सम्पन्न भएका छन् भने पाँच वटा क्रमागत र छ वटा योजना बाँकी छन् । तीमध्ये चार वटा योजना ठेक्कामार्फत कार्यान्वयन गरिएको छ ।
स्वास्थ्यतर्फ शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट ११ हजार जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै पाँच हजार जनाले सेवा प्राप्त गरेका छन् । वडाका एक हजार ६०१ परिवारका तीन हजार ४२९ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । ज्ञानेश्वरको नारायण चौर, मैतीदेवी र पारसनाथ आनन्द भैरव मन्दिर परिसरमा खुला व्यायाम स्थलसमेत स्थापना गरिएको छ ।
चालु आर्थिक वर्षको पूँजीगत खर्चतर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस बजेटबाट २८ वटा योजना कार्यान्वयन हुनेछन् । तीमध्ये चार वटा योजनाको ठेक्का भइसकेको छ भने चार वटा ठेक्का प्रक्रियामा छन् । एउटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन हुनेछ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष दलबहादुर कार्कीले स्थानीयको भावना र आवश्यकता बुझेर काम गर्न सके मात्र जनअपेक्षा अनुरूप सेवा र पूर्वाधार विकास सम्भव हुने बताए । वडाको आफ्नै प्रशासनिक भवन निर्माण हुन नसकेको विषयमा उनले स्थानीय विवाद र मुद्दाका कारण विनियोजित बजेट खर्च गर्न नसकिएको स्पष्ट पारे ।
वडा सदस्य मनोज डंगोल र इन्दिरा श्रेष्ठले नागरिकबाट प्राप्त गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सुधारका प्रयास निरन्तर भइरहेको बताए । वडा सचिव देवराज जोशीले डुवान समस्या समाधानका लागि ढल र मङ्गालको सर्वेक्षण गरी दीर्घकालीन समाधान खोजिने जानकारी दिए । साथै फायर ड्राइ राइजरको सफल परीक्षण भइसकेको र फायर इस्टिङ्ग्वीसर राख्ने योजना कार्यान्वयन चरणमा रहेको उनले बताए ।
सामाजिक कार्यक्रमअन्तर्गत गत वर्ष १२० जनालाई सिपमूलक तथा आयआर्जनमा आधारित तालिम प्रदान गरिएको थियो । वेकरी, साङ्केतिक भाषा, दृष्टिविहीनका लागि सङ्गीत, अपाङ्गता भएका महिलाबीच ह्वीलचियर बास्केटबल, उद्घोषण, कुसन, कपडाको खेलौना, साबुन र सरफ बनाउने तालिम सञ्चालन गरिएका थिए । यी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने योजना वडाले बनाएको छ ।
सुनुवाइ कार्यक्रममा सार्वजनिक शौचालय वृद्धि, वडा प्रोफाइल निर्माण, साँघुरा पैदल मार्ग फराकिलो बनाउने, वडा भवन निर्माण, स्वास्थ्य बीमा कार्यक्रम सरल बनाउने तथा खानेपानी वितरण सन्तुलन मिलाउनुपर्ने सुझाव आएका थिए ।
यसैबीच कार्यक्रममा वडाध्यक्ष कार्कीले करिब ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएका दुई वटा कर्नर फल्चाको उद्घाटन गरे । मैतीदेवी मन्दिरको दक्षिणतर्फको खुला चौरका दुई कुनामा निर्माण गरिएका फल्चा १५ फिट लम्बाइ र चौडाइका छन्, जसले स्थानीयको सार्वजनिक बसाइ र सौन्दर्य अभिवृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।