npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

पालिका ब्यूरो 2 days ago

काठमाडौँ, – नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि अनिवार्य स्वीकृति लिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थी का अनुसार समितिको गठन आदेश, २०७७ को दफा ७ (ञ), (ठ) र (ढ) तथा आन्तरिक व्यवस्थापन दिग्दर्शन–२०७९ को परिच्छेद १५ बमोजिम पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) र गोजी पात्रो प्रकाशन गर्नुअघि समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

दिग्दर्शनको परिच्छेद १५ दफा ५३.१ अनुसार पात्रो, भित्तेपात्रो, गोजी पात्रो, क्यालेण्डर तथा टेबल क्यालेण्डर प्रकाशन गर्ने व्यक्ति, संस्था वा समुदायले अनिवार्य रूपमा समितिको स्वीकृति लिएपछि मात्र प्रकाशन गर्न पाउनेछन् ।

त्यसैगरी, परिच्छेद १५ दफा ५६.१ अनुसार प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोको निरीक्षण गर्न संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयको प्रतिनिधि, गृह मन्त्रालयको प्रतिनिधि, समितिले तोकेको पञ्चाङ्गकारको प्रतिनिधि तथा समितिको प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

अनुगमन समितिको सिफारिसमा स्वीकृति नलिई पात्रो वा क्यालेण्डर प्रकाशन गरेमा सामग्री जफत गर्ने, प्रकाशनमा रोक लगाउने तथा स्वीकृतिप्राप्त प्रकाशनलाई हानि पुर्‍याएमा कसुरअनुसार रु १० हजारदेखि रु एक लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको समितिले जनाएको छ ।

वि.सं. २०७९ देखि पञ्चाङ्गका साथै भित्तेपात्रोमा पनि स्वीकृति अनिवार्य गरिएको छ । स्वीकृति नलिई प्रकाशित पात्रो तथा क्यालेण्डरमा चाडपर्व, तिथि, मिति, मुहूर्त र सरकारी बिदामा त्रुटि देखिने भएकाले सर्वसाधारणमा भ्रम र असहजता उत्पन्न हुने गरेको समितिको भनाइ छ ।

नेपालभर प्रकाशन तथा वितरण हुने सबै पात्रो र क्यालेण्डर समितिबाट स्वीकृति लिएर मात्र प्रकाशन तथा वितरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ । स्वीकृतिप्राप्त प्रकाशनमा स्वीकृति पत्र र नम्बर अनिवार्य उल्लेख हुने व्यवस्था छ ।

स्वीकृति नलिई प्रकाशित सामग्री प्रशासनिक निकायमार्फत जफत गरी कानुनबमोजिम कारबाही गरिने समितिले जनाएको छ । कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, शैक्षिक संस्था, उद्योग–वाणिज्य तथा सहकारी क्षेत्रलगायत सबै सरोकारवाला निकायको सहयोग अपेक्षा गरिएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष शम्भुप्रसाद ढकाल, सदस्य देवमणि भट्टराई र ज्योतिष तथा समिति सदस्य रतिवेदी जोशी श्रेष्ठ ले पात्रो तथा क्यालेण्डर प्रकाशनअघि स्वीकृति लिनुपर्ने व्यवस्था यस वर्षदेखि कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Read more news from PalikaNews

Explore by Source or Category