बुद्ध एयरको जहाजमा दिनहुँ देखिंदैछ समस्या, इन्धन लिकेजपछि रोकियो सिमरामा
काठमाडौं। बुद्ध एयरको जहाजमा दिनहुँजसो समस्या देखिन थालेको छ।
बुद्धको ९ एन एएनक्यू नामको जहाज दायाँ इन्जिनको इन्डिकेटरमा बुधबार राति समस्या देखिएका कारण उडान नै ८ाइभर्ट गर्नु परेकामा शुक्रबार इन्धन लिकेजका कारण उडान प्रभावित भएको छ।
बुद्ध एयरको ९ एन एआईटी एटीआर ४२ जहाजमा शुक्रबार सिमरा विमानस्थलमा इन्धन लिकेज भएको हो। जसका कारण सिमराबाट काठमाडौंमा हुनुपर्ने उडान प्रभावित भएको छ।
सिमरा विमानस्थलका सूचना अधिकारी संगम श्रेष्ठले बुद्ध एयरको जहाजमा उडानअघि जाँच गर्ने क्रममा समस्या देखिएको जानकारी दिए।
‘काठमाडौंबाट आएको जहाज पुन: काठमाडौंका लागि उडान भर्नुअघि पाइलटले चेक गर्ने बेलामा समस्या देखिएकाले उडान ढिलो हुने जानकारी एटीसीलाई आएको छ। के समस्या हो भएको भनिएको छैन। पार्किङमा रहेको जहाजको भुईंमा २ बाल्टी पानी हालेको देखिन्छ,’ श्रेष्ठले भने।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जहाजमा तेल लिकेज भएका कारण काठमाडौंबाट प्राविधिक टोली सिमरा विमानस्थल पठाएको जानकारी दिए।
‘काठमाडौंबाट प्राविधिक टोली सिमरा गइसकेको छ। हामीले यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकेका छौं,’ उनले भने।
The post बुद्ध एयरको जहाजमा दिनहुँ देखिंदैछ समस्या, इन्धन लिकेजपछि रोकियो सिमरामा appeared first on BIZMANDU.