नेपाली फिल्मको व्यापारलाई लाग्यो चिसो, हलमा दर्शक घट्दा आम्दानी प्रभावित
काठमाडौं। गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली फिल्मको व्यापार मंसिर महिनामा आएर उल्लेख्य रूपमा सुस्ताएको छ। चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ ले पुस ५ गतेसम्म सार्वजनिक गरेको तथ्यांकले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरू घरेलु बजारबाट लगानी उठाउन नै संघर्षरत रहेको देखाएको छ।
असोज–कात्तिकमा रिलिज भएका केही फिल्मले हलमा दर्शक तान्न सफल भए पनि मंसिरमै आएर त्यो क्रम घटेको स्पष्ट छ। हलहरूमा दर्शकको उपस्थिति घटेसँगै अधिकांश फिल्मले लगानी उठाउनै गाह्रो देखिएको छ।
मंसिर १२ गतेदेखि प्रदर्शनमा आएको ‘हर्ष’ ले घरेलु बजारमा पुस ५ सम्म जम्मा २८ लाख ७८ हजार ५३६ रुपैयाँ कमाइ गरेको छ। एकता पौडेलद्वारा निर्देशित यो फिल्मको ८ हजार ८६६ टिकट मात्र बिक्री भएको तथ्यांक छ, जुन देशभरका हलहरूको कुल क्षमता र पहिलो साताको औसत भिड हेर्दा निकै न्यून हो।
कथावस्तु, रफ्तार, र प्रचार–प्रसारको असरले फिल्मले अपेक्षा अनुसारको दर्शक खिच्न नसकेको विश्लेषकहरूको भनाइ छ। खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाह जस्ता चल्तीका कलाकारको उपस्थितिका कारण दर्शक तान्ने फिल्म युनिटको अपेक्षा विपरीतको व्यापार भएको छ।
मंसिर १८ गते रिलिज भएको ‘अभिमन्यू’ ले सोही अवधिमा २१ लाख ४८ हजार ७०२ रुपैयाँ कमाइ गरेको छ। सुशान्त गौतम निर्देशित फिल्मको ६ हजार ८५० टिकट बिक्री भएको छ। यस फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायतका अनुभवी कलाकारको अभिनय छ।
फिल्मका निर्माता विनोद पौडेलले यसअघि बनाएको ‘पूर्णबहादुरको सारङ्गी’ ऐतिहासिक सफलतामा दर्ज भएको थियो। त्यो सफलता र ब्रान्डको प्रभावले ‘अभिमन्यू’ ले समेत राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो, तर मंसिरको कमजोर बजार वातावरण, हलको कम शो र दर्शकको आकर्षण नदेखिएको कारण यसले पनि लगानी फिर्ता गर्ने सम्भावना कमजोर देखिएको छ।
उता, मंसिर २६ देखि प्रदर्शनमा आएको ‘पीआर’ ले सोही अवधिसम्म ६ लाख ६८ हजार ६३३ रुपैयाँ मात्र कमाइ गर्न सक्यो। फिल्मका लागि जम्मा २ हजार १०९ टिकट बिक्री भएका छन्। शोभित बस्नेत निर्देशनमा बनेको यस चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारको अभिनय छ। तर कथावस्तुको प्रस्तुति, कमजोर प्रमोशन र हलमा दर्शक उपस्थिति कमीका कारण यो चलचित्र पनि व्यावसायिक रूपमा कमजोर श्रेणीमै रह्यो।
त्यस्तै मंसिर २६ बाटै रिलिज भएका ‘लोकन्ती’ र ‘चिराग’ ले पनि उल्लेखनीय व्यापार गर्न सकेनन्। ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० रुपैयाँ कमाइ गर्न सफल भयो भने ‘चिराग’ ले ६८ हजार ४५० रुपैयाँ मात्र उठायो। यी सबै कमाइ पुस ५ गते राति ११:५९ बजेसम्म नेपालभर गरेको व्यापारको संयुक्त तथ्यांक हो।
नेपाली बक्सअफिसमा मंसिर र पुसलाई परम्परागत रूपमा कमजोर महिना मानिन्छ। चिसो मौसम, परीक्षाको समय, विवाहका बेला तथा वर्ष अन्त्यको व्यस्तताका कारण हलतर्फ दर्शकको आकर्षण घट्ने गर्दछ। यही कारण, फिल्म व्यवसायीहरू प्रायः माघदेखि चैतसम्मलाई ‘फिल्म प्रदर्शनका लागि उत्तम समय’का रूपमा हेर्छन्। वितरक तथा व्यवसायीहरूले पनि यही ट्रेन्ड पुष्टि गर्दै आएका छन्।
वितरक करण श्रेष्ठका अनुसार, ‘विगतलाई हेर्दा मंसिर–पुसमा आएका चलचित्रले रेकर्ड बनाएको देखिन्न। मौसम र सामाजिक कारणले हलको आकर्षण कम हुन्छ। तर माघपछि चिसो घट्दै जाँदा दर्शक हलमा फर्किन्छन्।’
तर उनी थप्छन्, ‘समयभन्दा पनि महत्त्वपूर्ण कुरा फिल्मको कथा र प्रस्तुति हो। कथाले मन जित्यो भने मौसम, महिना, परिस्थिति कुनै ठूलो समस्या हुँदैन। दर्शकलाई स्पष्ट रूपमा छुन सकेका फिल्मले हरेक समयमा व्यापार बढाएको देखिएको छ।’
विश्लेषकहरूका अनुसार, असोज–कात्तिकमा नेपाली फिल्मप्रति दर्शकको रुचि बढेको वातावरण मंसिरमा निरन्तरता नदिनुको कारण दुई प्रमुख पक्षमा देखिन्छ। पहिलो, रिलिज भएका फिल्मको कमजोर कथावस्तु र प्रमोसन, दोस्रो, हल व्यवस्थापन तथा शो टाइमिङमा देखिएको असन्तुलन। हलहरूमा विदेशी फिल्मको दबदबा र डिस्काउन्ट नीतिको कमीले पनि घरेलु फिल्मलाई प्रतिस्पर्धामा कमजोर पारेको छ।
नेपालमा पछिल्लो समय हलको संख्या बढेको भए पनि दर्शक आकर्षणको स्थिर आधार निर्माण हुन सकेको छैन। असोज–कात्तिकका सफल फिल्महरूले बनाएको वातावरणलाई निरन्तरता दिन निर्माताले दीर्घकालीन मार्केटिङ रणनीति अपनाउन नसक्नु र फिल्म बनाउने प्रक्रियामा गुणस्तरभन्दा मात्रामा जोड बढ्दै जानु पनि उद्योगका कमजोरी मानिएका छन्। रासस
The post नेपाली फिल्मको व्यापारलाई लाग्यो चिसो, हलमा दर्शक घट्दा आम्दानी प्रभावित appeared first on BIZMANDU.