सञ्चारमन्त्री खरेलले नियमित कामलाई नै माने उपलब्धि, तीन महिनामा के-के गरे?
काठमाडौं। मन्त्रालय र मातहतका कार्यालयले गर्ने नियमित कामलाई आफ्नो उपलब्धिका रुपमा सुनाउने प्रवृत्तिलाई विगतका मन्त्रीलेजस्तै यसपालि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि निरन्तरता दिएका छन्।
उनले मन्त्रालय, नेपाल टेलिकम लगायत निकायले गरेका नियमित कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेका छन्। उनले आइतबार पत्रकार सम्मेलन गरी आफूले तीन महिनामा गरेका मुख्य ३० काम सार्वजनिक गरेका हुन्।
प्रेस काउन्सिलमा अध्यक्ष नियुक्त गरेको देखि नेपाल टेलिकमको सक्रिय ग्राहक संख्या २ लाख थपिएको, जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सम्मान गरिएको विषयलाई खरेलले आफ्ना मुख्य काम भनेका छन्। टेलिकमको ग्राहक संख्या बढ्नुमा खरेलको कुनै योगदान छैन।
उनले सेन्सर बोर्डको कार्यविधि संशोधन, साइबर सुरक्षा एडभाइजरी जारी, जेनजीलाई सहुलियतदरमा डेटा प्याक उपलब्ध, दक्षिण कोरियासँग सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता लगायत अति सामान्य विषयलाई आफ्नो मुख्य काम भनेका छन्।
खरेल असोज ६ गते मन्त्री नियुक्त भएका थिए। उनले संचार मन्त्रालयको नेतृत्व सम्हालेयता काठमाडौं उपत्यकाका विभिन्न १९ स्थानमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भनिएको छ।
The post सञ्चारमन्त्री खरेलले नियमित कामलाई नै माने उपलब्धि, तीन महिनामा के-के गरे? appeared first on BIZMANDU.