PalikaNews
ढोरपाटन जोड्ने सडक निर्माणले गति लियो
बागलुङ – नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन सिकार आरक्ष जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ। लामो समयदेखि सुस्त रहेको बुर्तिबाङ–ढोरपाटन देउराली सडकको काम गत मङ्सिरदेखि तीव्र रूपमा अघि बढाइएको हो।
तिधज्ञ
बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक दुई खण्डमा निर्माण भइरहेको छ । बुर्तिबाङ देखि फल्लेघरसम्मको २२ किलोमिटर पहिलो खण्डमा अहिले ग्राभेल बिछ्याउने काम भइरहेको छ भने फल्लेघर–देउराली दोस्रो खण्डमा कालोपत्रको तयारी भइरहेको छ । सालझण्डी (रुपन्देही) देखि ढोरपाटन जोड्ने लक्ष्यसहित २०७८ सालमा सुरु गरिएको यो सडकले तराई र पहाडबीच सीधा पहुँच स्थापना गर्ने अपेक्षा गरिएको छ ।
सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलका अनुसार पहिलो खण्ड २०८० वैशाखभित्र ग्राभेल सक्ने लक्ष्य रहे पनि हालसम्म करिब ६५ प्रतिशत मात्र प्रगति भएको छ । चार वर्षअघि स्वच्छन्द–ओम/बुद्ध जेभीले जिम्मा पाएको उक्त खण्डमा ढिलाइ हुँदा चार पटक म्याद थप गरिएको छ । २०७८ कात्तिकमा ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। अहिले सडक चौडा पार्ने, कल्भर्ट निर्माणलगायत काम भइरहेका छन्। यस खण्डको स्तरोन्नतिमा रु २५ करोड ६१ लाख लागत अनुमान गरिएको छ।
इन्जिनियर पौडेलका अनुसार दोस्रो खण्ड कालोपत्रका लागि गत असारमा ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग रु १६ करोड ४८ लाखमा सम्झौता भएको छ । यस खण्डमा सडक चौडा बनाउने, नाला निर्माण गर्ने लगायतका काम भइरहेका छन्। २०८४ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डमा हालसम्म करिब १२ प्रतिशत प्रगति भएको छ ।
वि.सं. २०६८ मा रुपन्देहीबाट सुरु गरिएको सालझण्डी–ढोरपाटन सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी र पाल्पा हुँदै ढोरपाटनसँग जोडिनेछ। सडक पूरा भएपछि ढोरपाटन क्षेत्रको पर्यटन, स्थानीय व्यापार र आवतजावतमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ ।