PalikaNews
काठमाडौं महानगर वडा २३ मा भौतिक सम्पदा संरक्षणका त्रुटि सच्याउन सर्वेक्षण सुरू
काठमाडौं – काठमाडौँ महानगरपालिका वडा नम्बर २३ ले भौतिक सम्पदा स्थलहरूको संरक्षण तथा मर्मत–सम्भारका क्रममा विगतमा भएका त्रुटिहरू सच्याउन सर्वेक्षण कार्य सुरू गरेको छ । प्राचीन सम्पदाका भागहरू टुटफुट हुँदा आधुनिक सामग्री—विशेषगरी सिमेन्ट—प्रयोग गरी मर्मत गर्दै आएको पाइएकाले ती त्रुटि हटाई मूल स्वरूपमा पुनःस्थापना गर्न वडाले पहल थालेको हो ।
वडाध्यक्ष तथा महानगरको विधायन समितिका संयोजक मचाराजा महर्जनका अनुसार वडाभित्र किराँतकालदेखि लिच्छवीकालसम्मका ऐतिहासिक सिर्जनाहरू रहेका छन्। मन्दिर, चिबहा लगायत हिन्दू तथा बौद्ध सम्प्रदायसँग सम्बन्धित ८० वटा सम्पदा यहाँ छन् । जीवित देवी श्रीकुमारीको निवास, नास द्यः, अट्को नारायण, जोर गणेशजस्ता स्थान प्रसिद्ध सम्पदामा पर्छन् ।
महर्जनले भने, “पुनरुत्थानका क्रममा आधुनिक सामग्री हटाएर परम्परागत सामग्री प्रयोग गर्छौँ। हराएका वा जीर्ण भएर हटाइएका वस्तु पुनःस्थापना गर्छौँ, संरचना आवश्यक परे पुनर्निर्माण गराउँछौ ँ।”
हाल वडाले प्राविधिक तथा स्थानीयको सहयोगमा प्रत्येक सम्पदामा के–कस्तो समस्या छ, पुनःस्थापनामा आवश्यक सामग्री के हुन्, र लागत कति पर्न सक्छ भन्ने विषयमा विस्तृत अध्ययन गरिरहेको छ । वडाले अध्ययनको नतिजाका आधारमा पुनरुत्थान, मर्मत–सम्भार, संरक्षण तथा दिगोपनाका लागि बजेटको व्यवस्था गर्ने जनाएको छ ।
स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले वडाको पहलको प्रशंसा गर्दै भने, “पुरिएका चिवहाहरूलाई वास्तविक स्वरूपमा फर्काएर पुजा–पाठ र घुम्ने स्थल बनाइदिएको छ । यसले भौतिक संरचनाको मौलिकता मात्रै होइन, धार्मिक आस्था र सामाजिक जीवनमा नयाँ प्राण भरेको छ ।”
वडामा ४ हजार ६ सय मतदाता, ७ हजारजति अस्थायी बसोबासी र १ हजार ९३७ घरधुरी रहेका छन् । वडाभित्र ९ वटा परम्परागत गुथि सूचीकृत छन्, जसले श्रम तथा धार्मिक परम्परामा महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।
वडाको सबैभन्दा ठूलो जात्रा येँःया (इन्द्रजात्रा) हो। साथै स्थानीय समुदाय पाहाँचह्रे, सकीमिला पुन्ही, यमरी पुन्ही, चथा, गुँला, यँला लगायतका संस्कार मनाउँदै आएका छन्। गुँला पर्वमा स्वयम्भू जाने परम्परा छ भने यँला महिनामा माथिल्लो टोल, मध्य टोल र तल्लो टोलसम्बन्धी अलग–अलग धार्मिक यात्राहरू हुने चलन छ ।
भौतिक सम्पदाको पुनरुत्थानले वडाभित्रका सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ दिगो बनाउन मद्दत गर्ने विश्वास वडाले व्यक्त गरेको छ ।