npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच तीन घण्टा छलफल, कसले के भने ?

Nepal Watch 2 hours ago

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ।

संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले अपनाएको ‘इन्टरएक्टिभ’ शैलीले मुख्यमन्त्रीलाई चकित तुल्याएको थियो । प्रधानमन्त्रीसँगको छलफलले नयाँ नयाँ उत्साह थपेको मुख्यमन्त्रीहरूले बताएका छन् ।

छलफलका क्रममा मुख्यमन्त्रीले आफ्ना समस्या राख्दै गर्दा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बीचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस भएको थियो ।

प्रधानमन्त्री शाहको यो ‘एक्सन–ओरिएन्टेड’ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विना संकोच राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्यालाई ‘नोट’ गर्दै कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपाय समेत सुझाएका थिए ।

नीतिगत गाँठाहरू फुकाउन संघ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै शाहले भने, ‘संघ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ। त्यसैले तपाईंहरूलाई आफैँले छलफलका लागि राजधानी बोलाएको हो।’

साथै, प्रधानमन्त्री शाहले प्रदेश आफैँले तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गरे । उनले बजेट बिनियोजन गर्दा कुनै पनि विभेद नगर्ने बताएका छन् ।

Read more news from NepalWatch

Explore by Source or Category