npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

समय, संस्कार र सदाचारको द्वन्द्व

Saral Patrika 1 day ago

हामी सानो छँदा आफ्ना अभिभावकप्रति मान-सम्मान राख्ने इच्छा गर्थ्यौं। उहाँहरूले अराए-खटाएका काम र सेवामा तल्लीन हुन्थ्यौं। तर, के गर्दा सम्मान हुन्छ र के गर्दा अपमान हुन्छ भन्ने पर्याप्त ज्ञान नभएकाले हामीलाई उचित विधि र प्रक्रियाको बोध थिएन। त्यस कालमा नजानेका कतिपय कुराहरू अहिले समयक्रमसँगै थाहा भइरहेका छन्। बाल्यकालमा के, कसरी र कतिसम्म सिकियो भन्ने कुराले मानिसको समग्र जीवनमा ठूलो महत्त्व राख्दो रहेछ।

निर्माण र विनिर्माणको समय खराब मानिस असल हुन समय लाग्छ र असल मानिस खराब हुन पनि समय नै लाग्छ। तर मात्राको हिसाबले कुन बढी चुनौतीपूर्ण हुन्छ भन्ने कुरा मुख्य हो। समय नै जीवन र जगत्को मेरुदण्ड हो, जो प्रेम र मायाको भावबाट निर्देशित हुन्छ। विज्ञानमा हामीले ‘दोलनकाल’ को बारेमा पढेका थियौं, जीवन पनि त्यस्तै उतारचढावको एउटा निरन्तर प्रक्रिया हो।

मानव स्वभाव निर्माण गर्नुपर्ने सीप र क्षमता झन् फरक विषय हुन्। असल स्वभावका लागि अभ्यास, निरन्तरता र आदतको आवश्यकता पर्छ। यही आदत नै कालान्तरमा संस्कार र संस्कृतिमा रूपान्तरण हुन्छ। हामी सबै असल, धनी र ज्ञानी बन्न चाहन्छौं, तर हामीमा विविधता छ- उमेर, अवस्था, शारीरिक गुण, क्षमता र ज्ञानको। विविधताभित्रको समानता र समानताभित्रको विविधताका बीच एउटै समाज, संस्था वा राज्यमा बसोबास गर्दा अनेकौँ अन्तरद्वन्द्व र अन्तरप्रभावहरू सिर्जना हुन्छन्।

यस्तो अवस्थामा असलबाट खराबतिर जान समय लाग्दैन, किनकि त्यो विनाश र लोपको मार्ग हो। विनिर्माण र तहस-नहसको यात्रा छोटो हुन्छ। तर खराबबाट असल हुनु एउटा लामो निर्माण प्रक्रिया हो। यो ‘नभएको’ बाट ‘भएको’ तर्फको यात्रा हो। यसका लागि संरचना, कार्यविधि, स्रोत र वस्तुको उचित संयोजन आवश्यक पर्छ। यो असल र खराबबीचको द्वन्द्व कार्यक्षेत्र, राजनीति, खेल र अर्थ आर्जन- सर्वत्र विद्यमान छ। त्यहाँ समय, स्रोत-साधन र कार्यविधिको प्रयोगले नै नतिजा निर्धारण गर्छ।

स्वभावको भेद: मौरी र झिँगा दुईवटा कीटहरूलाई हेरौँ। झिँगा उड्न थालेपछि उसको गन्तव्य प्रायः फोहोरमैलातिर हुन्छ र ऊ त्यहीँ रमाउँछ। तर मौरीको यात्रा जहिले पनि फूल वा सुगन्धित स्रोततर्फ लक्षित हुन्छ। यो जीवको गुण र स्वभावगत विशेषता हो। मानिसमा पनि यस्तै स्वभावको भेद पाइन्छ।

असल सन्तान जन्माएर, हुर्काएर, सक्षम र सभ्य बनाउन आमाबुबाले आफ्नो कति समय, स्रोत र इच्छाको त्याग गरेका हुन्छन् भन्ने कुरा हिसाबबाट होइन, अनुभवबाट मात्र बुझ्न सकिन्छ। मानिसले गर्ने यस्ता हरेक कर्मका बारेमा हामीले गम्भीर भएर सोच्नुपर्ने हुन्छ।

जिम्मेवारी र सदाचार हामी एकातिर सबैको भलो गर्ने जिम्मेवारी लिएर पदमा पुग्छौं, तर अर्कोतिर त्यही पद र स्रोत-साधनलाई आफ्नो घर, परिवार, नाता र गुटको हितमा प्रयोग गर्न थाल्छौं। किन यस्तो हुन्छ? कसरी यो अमिल्दो द्वन्द्वबाट मुक्त हुने? वास्तवमा, सदाचारको अन्त्य र भ्रष्टाचारको थालनी त्यही बिन्दुबाट हुन्छ, जहाँ जिम्मेवारी र जवाफदेहितामा कमजोरी देखिन्छ।

सन्त नेता कृष्णप्रसाद भट्टराई पदमा रहँदा पनि शनिबार कहिल्यै सरकारी गाडी चढ्नुहुन्थेन भनिन्छ। उहाँ निजी कामका लागि ट्याक्सी प्रयोग गर्नुहुन्थ्यो। यस्तो सन्त प्रवृत्ति र उच्च चेतनास्तर भएका व्यक्तिबाट मात्र यस्तो निष्ठा सम्भव छ।

मैले आफ्नो जीवनमा यस्तो अवस्था आइपर्दा सोझै ‘हुँदैन’ नभनीकन ‘मलाई मिलेन’, ‘आउन सकिनँ’ वा ‘समयले साथ दिएन’ भन्दै टार्ने अभ्यास गरेको छु। तर राजनीति गर्ने मेरा साथीहरू, मित्रहरू र शुभेच्छुकहरूले भने अनुचित कुरालाई ठाडै अस्वीकार र प्रतिकार गर्ने सामर्थ्य राख्नुपर्छ। किनभने तपाईँहरूसँग जनमत र विशेष हैसियत छ। के तपाईँ अनुचित कुरालाई ‘मिल्दैन’ भन्न सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने तपाईँ लोकप्रिय, सदाचारी र सुशासनको साँचो पक्षधर हुनुहुन्छ।

द्वन्द्वमा पनि लक्ष्य, ध्येय र कार्यको एउटा सीमा हुन्छ। रामायण र महाभारतमा पनि यस्तै सीमाहरू देखाइएका छन्। अन्त्यमा, सबै द्वन्द्वहरू समयको प्रवाहमा समाहित हुन्छन्। तर मानिसका सबै काम समाजका लागि हितकारी नै हुन्छन् भन्ने छैन। बेला चिनेर द्वन्द्व गर्ने कि मेल? त्यो तपाईँको विवेक र रोजाइको विषय हो।

Read more news from Saral patrika

Explore by Source or Category