शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचन विजयी, एमालेका बराल अल्पमतमा
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.ओजस्वी शेरचन बहुमतले विजयी भएकी छन्।
सिंहदरबारमा आज बसेको समितिको बैठकले सभापति चयन गरेको हो। ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा सभापति पदका लागि रास्वपाबाट डा. शेरचन र नेकपा एमालेका गुरु प्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचनमा डा.शेरचनले स्पष्ट बहुमत प्राप्त गर्दै विजयी भइन् भने एमालेका बराल अल्पमतमा परे। बराललाई नेपाली कांग्रेस र नेकपाको समर्थन रहे पनि जितका लागि आवश्यक मत जुटाउन सकेनन्।
सत्तारुढ गठबन्धनको मत समीकरणका कारण सुरुदेखि नै डा. शेरचनको जित निश्चितजस्तै देखिएको थियो।
नवनिर्वाचित सभापति डा.शेरचनले समितिलाई प्रभावकारी बनाउँदै शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका नीतिगत सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन्।